पथरी घटनामा भाउजू ठानेर नन्दको हत्या गरेको खुलासा

  • २८ फाल्गुन २०८०, सोमबार

मोरङ पथरीशनिश्चरे–७ की १५ वर्षीया वालिका ज्ञानमति थुलुङ राई (सन्जना) को हत्यामा संलग्न धिरेनकुमार खाँ चौधरीले भाउजुलाइ भनी खुकुरी हानेको तर झुक्किएर ज्ञानमतिलाइ लागेको बयान प्रहरीलाइ दिएका छन् ।

ज्ञानमतिको हत्या आरोपमा पक्राउ परेका मोरङको ग्रामथान गाउँपालिका घर भइ बाराको जितपुर सिमरा बस्ने ३८ वर्षीय चौधरीले भाउजुलाई प्रहार गरेको खुकुरी ज्ञानमतीलाई लागेको बयान दिएका हुन् ।
ज्ञानमतिलाइ दाजुभाउजूले कुटपिट गर्ने र विवाहमा अबरोध गरेको थाहा पाएपछि चौधरीले दाजु भाउजूमध्ये एकको हत्या गर्ने योजना बनाएको तर घटना अर्कै भएको प्रहरीलाई बताएका हुन् ।

खोटाङको ऐँसेलुखर्क गाउँपालिका–६ सल्ले घर भएकी ज्ञानमति पथरीशनिश्चरे नगरपालिका–७ लामा टोलीस्थित आफन्त विनोद राईको घरमा २ वर्षदेखि बस्दै आएकी थिइन् । ज्ञानमतिको हत्या भएपछि पक्राउ परेका प्रेमी भनिएका चौधरीले यसअघि परिवारले विवाह नगरिदिने भएपछि युवतीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो ।
अनुसन्धान गर्दै जाने क्रममा चौधरीले मृतक राईको नभएर उनकी भाउजुको हत्या गर्ने योजना बनाएको बताएको प्रहरीले जनाएको छ ।
‘बाराबाट पथरीमा उत्रिएपछि दिउँसो ३ बजेसम्म चौधरी पथरीमा बसेको देखिएको छ । त्यहाँबाट बिर्तामोड गई एक दिन बसेपछि सोमबार दिउँसो ३ बजे पथरी आएको र दिनभरी पथरीमा बसेर राति कर्तब्य गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
घटनाको अनुसन्धान गर्दै आएका एक प्रहरी अधिकृतले भने, ‘भाउजुलाई भनेर सोमबार राति १० बजेर १० मिनेटमा धारिलो हतियार खुकुरी प्रहार गरेको देखिएको छ ।’ हत्यापछि फरार रहेका चौधरीलाई प्रहरीले बेलबारीस्थित भाउन्नेको जंगलबाट सोमबार राति पक्राउ गरेको थियो ।
प्रहरीले हत्यामा प्रयोग भएको खुकुरी पनि शनिबार बरामद गरेको छ । घटनास्थलदेखि करिब चार मय मिटर पूर्व खोलाको लेदोबाट खुकुरी बरामद गरिएको थियो । अभियुक्तले नै खुकुरी फालेको घटनास्थल देखाएका थिए ।
इलाका प्रहरी कार्यालय पथरीले चौधरीलाई कर्तब्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान गर्दै आएको छ ।
चौधरी र राई ढेड वर्षदेखि प्रेममा रहेको प्रहरीले जनाएको छ । चौधरी विवाहित हुन् । उनकी श्रीमति चार वर्षदेखि वैदेशिक रोजगारको सिलसिलामा कतारमा छिन् ।श्रीमतिसँग राम्रो सम्बन्ध नभएपछि सामाजिक सञ्जालमार्फत उनको किशोरीसँग चिनजान भएको र नजिकिएको प्रहरीले जनाएको छ ।