बेलबारी हत्याकाण्डको १८ वर्ष : न पीडितलाई न्याय, न घटनाका दोषीलाई कारबाही

  • १२ बैशाख २०८१, बुधबार

घटना भएको यतिका समय बितिसक्दा समेत पिडितहरुले उचित  न्याय पाएका छैनन । आशै आसमा बसेका घटनाका पिडितहरुले अब त न्याय र उचित क्षतिपूर्ति पाउने झिनो आशा पनि मारिसकेका छन । घटनाका मुख्य दोषीलाई कारबाही भएको हेर्ने पिडितको धोको जिवितै छ तरपनि स्थानीय सरकारदेखि सम्बन्धित र सरोकारवाला पक्षहरूले बेलबारी हत्याकाण्डको घाउ बिर्सिसकेका छन्  ।

यसरी भएको थियोे बेलबारी हत्याकाण्ड

लोकतन्त्र प्राप्तिका लागि सबै नेपालीहरु सडकमा थिए । अघिल्लो दिन अर्थात २०६३ बैशाख ११ गते जनआन्दोलन  उत्कर्षमा पुगी ‘लोकतन्त्र’ आएको थियो । ठिक त्यति नै बेला बैशाख १२ र १३ गते मोरङको बेलबारीमा नेपाली सेनाले नरसंहारकारी घटना गरायो ।

सोही घटनामा  बेलबारी ३ की स्थानीय २२ बर्षीया सपना गुरुङको नेपाली सेनाले बलात्कारपछि हत्या गरेको हल्ला फैलियो । बेलबारी ३ स्थित भगवती स्कुल पछाडि सेनाले बिभ्त्स हत्या गरेको अबस्थामा सपनाको लाश भेटियो । सपनालाइ हत्या गरेको भोलिपल्ट बैशाख १३ गते  घटनाको बिरोधमा सैंयौं स्थानीयबासीले सेनासमेत बसेको इलाका प्रहरीकार्यालय घेराउ गरे । आक्रोशित स्थानीयले गेटका तारघेरा तोड्नुका साथै आगजनी पनि गरे । हुलदुंगा थामिनसक्नु भएपछि  सेनाले कुनै चेतावनी वा हवाइ फायरसम्म नगरी इलाका प्रहरी परिसर र इप्रकाभन्दा उत्तरपट्टी रहेको बाणिज्य बैंक रहेको घरको छतबाट अन्धाधुन्ध चारतिर  गोली चलाँउदा थप ६ जनाको ज्यान  ५२ जना  सर्बसाधारण घाईते भए ।

सो हत्याकाण्डमा परी तत्कालै बेलबारी ३ का सुनिता ऋषिदेब बेलबारी २ का प्रसाद गुरुङ, तत्कालीन इन्द्रपुर ३ का फुर्बा तामाङ, इन्द्रपुर ४ का प्रभुनाथ भटराई, मृगौलिया ८ का छत्र बहादुर परियारको तत्कालै मृत्यु भयो ।  घटनामा घाईते भएका बेलबारी ४ का गोपालचन्द्र गौतमले पनि पिडा सहन नसकेपछि २०६६ चैत १४ गते आत्महत्या गरे ।

यो नरसंहारकारी घटनापछि बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बिरलै बज्ने साईरन बज्यो । घाइतेहरुको भिडले अस्पताल नै भरीभराउ जस्तै भयो । हत्याकाण्डको भोलि पर्सीसम्म भिडभाडमा भाग्ने क्रममा छोडिएका सैयौं जुत्ता चप्पलहरु राजमार्ग र सडकहरुमाअसरल्ल थिए । हत्याकाण्डकै कारण बेलबारी महिनौंसम्म त्रसित बन्यो ।

घटनापछि सरकारले तत्कालिन सांसद परी थापाको संयोजकत्वमा संसदीय छानबिन समिति बनायो । झन्डै एक बर्षपछि छानविन समितिले मृतकका परिवारलाई १० लाख, अङगभङग् भई घाइते भएकालाई ६ लाख, घाइतेलाई ७५ हजार र सामान्य घाइतेलाई २५ हजार  क्षतिपूर्ति दिन सरकारलाई सिफारिस गर्यो

।  तर सरकारले मृतकका परिवारलाई पहिले जनही ३ लाख, अङगभङ्ग भई घाइते भएका १० जनालाई जनही ७५ हजार, घाइते २२ जनालाई जनही २५ हजार र सामान्य घाइतेलाई १० हजारका दरले क्षतिपूर्ति दिएकोमा पटक पटक गरी मृतकका परिवारलाई १० लाख रुपैया उपलब्ध गराएपनि घाईतेहरु भने राहत र उपचार खर्चको अभावमा तड्पिएर बसेका छन् ।

के छ पिडितहरुको अबस्था ?

फायल फोटो

घटना भएको यतिका बर्ष बितिसक्दा समेत घटनाका पिडितले अझै न्याय पाएको महसुस गर्न सकेका छैनन् ।

घाइते फिरोज खान बैठाखीको सहारामा हिँड्न सक्ने भएपनि आर्थिक रुपले बिजोग अबस्थामा छन्  । अर्का घाइते गणेश दाहाल पनि घरै थलिएर बसेका छन् । मृतकहरुमध्ये  सपनाकी आमा बेलबारी १ की ६० बर्षीया शोभा गुरुङ सरकारबाट सपनाका छोरीहरूलाइ निशुल्क अध्ययन गराउने लगायतका थुप्रै आश्वासन पाएको तर आश्वासनबाहेक अरु केहि नपाएको बताउँछिन् । अन्य  मृतकका परिवार र घाइतेहरु पनि  गुननाम अबस्थामै कष्टकर जीवन जिउन बाध्य छन् ।

सपना गुरुङ् हत्या काण्डका  दाेशीलाई तत्काल कारवाही घाईतेलाई क्षतिपूर्ति उपचारको माग राखेर केही बर्ष त पीडितहरुले थुप्रैपटक आन्दोलन पनि गरे तर घटनाबाट कम पीडित भएपनि राजनीतिक आडमा सङघर्ष समितिको नेतृत्व गरेका ब्यक्तिले बेवास्ता गर्नाले आन्दोलन सेलाएको पीडितहरु बताउँछन्  ।

सात जनाको ज्यान जाने गरी भएको हत्या काण्डका पीडितहरुले गिरिजा प्रसाद कोइराला,माधब कुमार नेपाल,पुष्पकमल दहाल नेतृत्वको सरकार हुँदा गृहमन्त्रालयदेखि शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा मागपत्र बुझाउँदा पनि बेवास्ता भएको पीडितहरुको गुनासो छ ।

अपाङ्ग भत्तासम्म पाएका छैनन्  पीडितले 

सोही घटनामा घाईते भएका ब्यापारी फिरोज खान अझैपनि राम्रोसँग हिँडडुल गर्न सक्दैनन । खुट्टामा चोट लागेका खानको आफ्नो भन्ने बैशाखी मात्रै हो । त्यसैले उनी त्यसकै भरमा हिँडडुल गर्छन् । आफन्तहरु भारतमा भएका कारण उनको आफ्प्नो  कागजात नपुगेको भन्दै उनको न नागरिकता बनेको छ, न त अपाङ्ग कार्ड नै । पटकपटक केन्द्रियदेखि स्थानीय सरकारकोमा घाएका उनी आर्थिक अभावमा कष्टपुर्ण जीवन जिउन बाध्य छन् । पहिले चुरी ब्यापार गरेर राम्रै कमाई गर्दै आएका फिरोज एक्लो जीवन बिताइरहेका छन् ।  घाईते भएपछि उनको बिवाह समेत हुन सकेन  । सरकार र सम्बन्धित पक्षले आफुहरुको माग पुरा नगर्दा जिबन जिउँन गाग्रो भएको खानको गुनासो छ ।

कारबाही भएन घटनाका दोषीहरुलाई 

शुरुमा सरकारले नै दोषीलाई कारबाही गरिने बताएको थियो । घटनाका मुख्य दोषी किटान गरिएका नेपाली सेनाका तत्कालीन क्याप्टेन प्रल्हाद थापा मगर लगायतलाई सेनाले आन्तरिक कारबाही गर्ने बताए पनि के कारबाही गरियो या गरिएन ? उनी अहिले कहाँ के गर्दैछन भन्ने कसैलाई जानकारी छैन ।

आफ्नी छोरी लगायतको हत्या गर्ने योजनाका मुख्य नाईके प्रल्दाद मगर नै भएको र उनलाई हदैसम्मको कारबाही भएको देख्न र सुन्न पाएमात्रै आफनो छोरीको आत्माले शान्ति पाउने सपनाकी आमा बताउँछिन । आफु जिवितै हुँदा दोषीलाई कारबाही भएको सुन्ने र देख्ने उनको ठुलो सपना छ । टुहुरा नातिनातिनाकी अभिभावक बनेर लालनपालन र शिक्षादिक्षा गरेर बसेकी उनको चाहना छ दोषीलाई कारबाही होस् नत्र छोरीको आँसुले पिरोलोस् ।

स्थानीय सरकार बेखबर 

तत्कालीन बेलबारी गाबिस  हाल बेलबारी नगरपालिका कायम भएको छ । बेलबारी नगरपालिकामा स्थानीय सरकारको एउटा कार्यकाल ५ बर्ष  सकिएर अर्को कार्यकालको पनि  आधा बितिसकेको छ । तर स्थानीय सरकारले हत्याकाण्डका बिषयमा चुपचाप छ । नगरपालिकाले बेलबारी हत्याकाण्डका पीडितलाइ राहत दिने त कुरै छाडौं, त्यस बिषयमा एउटा कार्यक्रम पनि गरेको  छैन । – नेपाल पूर्वबाट