व्यवस्थापन संकायका पूर्व डिन थपलिया पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्त

  • १९ बैशाख २०८१, बुधबार

मोरङ / पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विजुकुमार थपलिया नियुक्त भएका छन् ।
शिक्षामन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा उपकुलपति छनोट तथा सिफारिस समितिले सिफारिस गरेको आधारमा थपलिया उपकुलपति नियुक्त भएका हुन् ।
प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले प्रा. डा. थपलियालाई मंगलबार उपकुलपतिमा नियुक्त गरेका छन् । थपलिया पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायका पूर्व डिन हुन्।
उक्त समितिले पूर्वाञ्चलमा थपलिया, महेशराज दाहाल र देवीप्रसाद भट्टराईको नाम सिफारिस गरेको थियो । समितिले दरखास्त माग गरी कार्ययोजना, सोचपत्र र अन्तर्वार्ताको आधारमा छनोट गरी सिफारिस गरिएको थियो । विज्ञ समूहले कार्ययोजना सोचपत्रको मूल्यांकन गरी छनोट गरेको थियो ।
प्रधानमन्त्री दाहालले विश्वविद्यालयमा हुने दलीय भागबन्डाको अन्त्य गरी प्राज्ञिक प्रतिस्पर्धाका आधारमा नियुक्त गर्ने घोषणा गर्दै आएका थिए । मेरिटोक्रेसीअनुसार नै उपकुलपति नियुक्त गरेको प्रधानमन्त्री दाहालको सचिवालयले दाबी गरेको छ ।