हिले–भीरगाउँ सडक कालोपत्रे सुरु, भीरगाउँका बासिन्दामा खुशीयाली

  • २५ बैशाख २०८१, मंगलवार

धनकुटाको हिलेदेखि भीरगाउँ मधुगंगा जोड्ने सडक कालोपत्रे गर्ने काम सुरु भएपछि भिरगाउँबासी खुशी भएका छन् ।  धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले हिलेमा एक कार्यक्रमकाबीच केही दिनअघि शिलान्यास गरेपछि सडक कालोपत्रेको काम सुरु गरिएको हो ।

मेयर तामाङको पहिलो कार्यकालमा निर्माण शुरु भएको सो सडक उनकै दोस्रो कार्यकालमा सडक कालोपत्रे थालिएको हो । शिलान्यास कार्यक्रममा बोल्दै मेयर तामाङले नगरपालिकाको दुर्गम क्षेत्र भनेर चिनिने भीरगाउँलाई अब सुगम बनाउँन यो सडक कोसेढुंगा सावित हुने दाबी गरे । ‘१५ महिनाभित्र यो सडक कालोपत्रे भइसक्छ, आकर्षक बाटो बन्नेछ,’ मेयर तामाङले भने, ‘भीरगाउँबासीले अब नगरवासी भएको महसुस गर्नुहुनेछ ।’

७.१ किलोमिटर लामो सो सडक विश्व बैंकको सहयोगमा ३२ करोड ७२ लाख ३ हजार ७१८ रुपैयाँ खर्च गरेर कालोपत्रे गर्न लागिएको हो । १५ महिना अर्थात आर्थिक वर्ष २०८२÷०८३ मा काम सक्ने गरी आशिष आशीर्वाद स्वामिनारायण जेभीले कालोपत्रेको जिम्मा लिएको छ ।

तोकिएको समय अगावै सक्ने गरी काम गर्ने निर्माण कम्पनीका प्रबन्ध निर्देशक सन्तोषकुमार बस्नेत बताउँछन् । सडक कालोपत्रे गर्ने काम सुरु भएपछि भीरगाउँवासी हर्षित भएका छन् ।