ससुरा र बुहारीमाथि बेलबारीमा दलियो कालोमोसो, पाँचजना पक्राउ

  • ६ जेष्ठ २०८१, आईतवार

सडक निर्माणको विषयमा भएको विवादलाई लिएर बेलबारी नगरपालिका ११ लक्ष्मीमार्गमा ससुरा र बुहारीमाथि कालोमोसो दलिएको छ ।
सुनसरीको धरान उपमहानगरपालिका १२ घर भइ हाल बेलबारी ११ लक्ष्मीमार्गमा बस्दै आएका विष्ट थरका ७५ वर्षीय एक वृद्ध र उनकी ३७ वर्षीया बुहारीलाई स्थानीयले कालोमोसो दलेको प्रहरीले जनाएको छ ।

सुम्निमा चोकबाट जुराहतर्फ जाने सडक निर्माणका क्रममा स्थानीय र विष्ट परिवारबीच विवाद भएको थियो । निर्माणाधीन सडकले आफ्नो दुवैतर्फको जग्गा काट्ने भन्दै विष्टले विरोध गर्दै आएका थिए  ।
विवादकै क्रममा कालो मोसो दलेर ससुरा र बुहारीमाथि अमानवीय व्यवहार गरिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए ।
कोशी प्रदेश सरकारको बहुवर्षीय योजना अन्तर्गत करिब साढे १२ किलोमिटर लम्बाइ र २४ फिट चौडाइको सडक निर्माण ३ वर्ष अघिबाट सुरु गरिएको थियो ।
बिवादकै कारण विष्टको जग्गा हुँदै बाटो बन्ने सडक निर्माणले गति लिन सकिरहेको छैन ।
उक्त सडक निर्माण तत्काललाई अगाडि नबढाउन र जग्गा धनीसँग सहमति गरेर मात्रै काम गर्न वैशाख ६ गते उच्च अदालत विराटनगरले आदेश दिएको थियो ।
अदालतको आदेशपछि पनि जबरजस्ती काम अघि बढाउन खोजेको भन्दै जग्गा धनी विष्टका परिवार विरोधमा उत्रिएका थिए । उनीहरुले तत्काललाई सडकको काम अघि नबढाउन आग्रह गरे । त्यही विषयलाई लिएर विष्ट परिवार र स्थानीयबीच विवाद भएको प्रहरीले जनाएको छ ।
विवादकै क्रममा स्थानीयको भीडले गालीगलौज गर्दै लछारपछार पारेर विष्ट र उनकी बुहारीलाई शुक्रबार दिउँसो कालोमोसो दलेको एसपी कार्कीले बताए ।
कालो मोसो दलेको घटनामा संलग्न भएको आरोपमा प्रहरीले पाँचजना स्थानीयलाई पक्राउ गरेको छ । घटनामा संलग्न भनिएकी एक जना महिला फरार रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।