सुकुना क्याम्पसमा तथ्याङ्क व्यवस्थापन सम्बन्धी तीनदिने तालिम सम्पन्न

  • १२ जेष्ठ २०८१, शनिबार

विश्वविद्यालय अनुदान आयोग नेपालीको वित्तीय सहयोग र क्याम्पसको आयोजनामा सुकुना क्याम्पसमा गुणात्मक तथ्याङ्क व्यवस्थापन  तालिम तथा कार्यशाला सम्पन्न भएको छ ।
जेठ १० गते देखि १२ गतेसम्म भएको तालिममा विभिन्न ६ वटा क्याम्पसका ९ जना शिक्षक प्रतिनिधिहरू र सुकुना क्याम्पसका ४७ जना गरी जम्मा ५६ जना शिक्षकहरू सहभागी थिए । विहीबार विहान उद्घटन भई शनिबारसम्म चलेको तालिममा गुणात्मक अनुसन्धानमा तथ्याङ्क सङ्कलन, व्यवस्थापन, व्याख्या र विश्लेषण गर्ने क्षमताको विकास आदिबारे प्रशिक्षण दिईएको सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दहालले जानकारी दिए ।
काठमाडौँ विश्वविद्यालय, स्कुल अफ एजुकेशन, हात्तीवन, ललितपुरका सहप्राध्यापक डा. सुरेश गौतम र सुकुना क्याम्पसका सहप्राध्यापक डा. मोहनकुमार तुम्वाहाङले विषयविज्ञका रुपमा तीन दिने तालिमको सहजीकरण गरेका थिए । कार्यक्रममा परिमाणात्मक अनुसन्धान र गुणात्मक अनुसन्धान बिचको फरक र गुणात्मक अनुसन्धानको महत्त्वका सैद्धान्तिक विषयमा छलफल भएको थियो ।
तालिममा गुणात्मक अनुसन्धानमा तथ्याङ्क सङ्कन गर्ने विधि तथा तरिका, नैतिक पक्षहरू, तथ्याङ्कको व्यवस्थापन, तथ्याङ्कको छलफल एवम् व्याख्या र विश्लेषण गर्ने तरिकाका विषयमा दुई दिनसम्म विभिन्न आठ समूहमा कार्यशाला सञ्चालन गरी समूहहरूबाट प्रस्तुतीकरण गरिएको क्याम्पसले जनाएको छ । समापन कार्यक्रममा सहभागीहरूले तालिम/कार्यशालामा सिकिएका विषयमा प्रतिविम्बन गरेका थिए । शनिबार नै सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको छ ।
उद्घाटन तथा समापन कार्यक्रमको सञ्चालन आयोजक समितिकी संयोजक उषाकिरण वाग्लेले गरेकी थिएन् । कार्यक्रमको सिङ्गो व्यवस्थापन क्याम्पसको अनुसन्धान व्यवस्थापन एकाइ (RMC-Sukuna) ले गरेको थियो । तालिमबाट गुणात्मक अनुसन्धान गर्न सक्ने तागत मिलेको सहभागीहरुले बताएका छन्।