बाणिज्य बैँक कर्मचारी संघद्वारा श्री आधारभूत विद्यालयलाई ५० हजारको शैक्षिक सामग्री बितरण

  • ६ श्रावण २०८१, आईतवार

 राष्ट्रिय वाणिज्य बैँक कर्मचारी संघ नेपाल, कोशी प्रदेशले बेलबारी नगरपालिका वडा नं.३ मा रहेको श्री आधारभूत विद्यालयलाई ५० हजार बराबरको शैक्षिक सामग्री सहयोग गरेको छ ।

संघको ३५ औँ वार्षिकोत्सवको अबसर पारेर आइतबार विद्यालयलाई शैक्षिक सामाग्री सहयोग गरेको हो । ८० थान स्कुल ब्याक, कपीकलम लगायतको ५० हजार बराबरको शैक्षिक सामाग्री संघले वितरण गरेको विद्यालयका प्रधानाध्यापक लीला आचार्यले बताए ।

राष्ट्रिय वाणिज्य बैँक कर्मचारी संघ नेपाल, कोशी प्रदेशका अध्यक्ष कृष्ण बरालका अनुसार संघले वार्षिक रूपमा खाद्यान्न वितरण, सरसफाइ कार्यक्रम लगायतका विभिन्न सामाजिक कार्यक्रम गर्दै आएको छ ।

कार्यक्रमका प्रमुख अतिथि  बेलबारी नगरपालिका वडा नं.३ का अध्यक्ष योगेन्द्र सुवेदीले विभिन्न संघ संस्था र व्यक्तिहरूको सहयोगले, विद्यालयले क्रमिक सुधारसँगै विद्यार्थीको संख्या वृद्धि गरिरहेको बताए ।

राष्ट्रिय वाणिज्य बैँक कर्मचारी संघ नेपालका पूर्व अध्यक्ष हेमराज सुवेदीले संघको बारेमा जानकारी दिँदै, संस्थागत विद्यालयको बढ्दो प्रभावको बेला सामुदायिक आधारभूत विद्यालयलाई छनोट गरेर शैक्षिक सामाग्री वितरण गरेकोमा कोशी प्रदेश कमिटीको सोच र कार्यको प्रशंसा गरे।

कार्यक्रममा राष्ट्रिय वाणिज्य बैँक शाखा कार्यालय उर्लाबारीका प्रबन्धक जोती दाहाल, पथरी शाखाका प्रबन्धक रोशन सुवेदी, पचरुखी शाखाका प्रबन्धक ज्ञानेन्द्र बल लगायतको उपस्थिति थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द राज लिम्बुको अध्यक्षतामा भएको थियो ।