नोबेल अस्पतालमा पेटको हालसम्मकै ठूलो शल्यक्रिया

  • १६ भाद्र २०८०, शनिबार

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा पेटको हालसम्मकै ठूलो शल्यक्रिया गरिएको छ ।

मोरङको लेटाङ नगरपालिका २ खैरेनीकी ५३ वर्षीया मनरानी कुरुङवाङको पेटको हालसम्मकै ठूलो र जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको हो ।

कुरुङवाङको पित्त नली सानो आन्द्रामा जोडिने ठाउँमा क्यान्सर भएको थियो । पेटमा गरिने शल्यक्रियाहरूमध्ये सबैभन्दा ठूलो मानिने यो शल्यक्रियाका क्रममा सानो आन्द्रा, आमासयको तल्लो भाग, प्याङ्क्रियाजको केही भाग, पित्त थैली र पित्त नली वरिपरिका ग्रन्थिहरू काटेर निकालिएको छ ।

अप्रेसन गरी क्यान्सर भएको भागलाई फालेर प्याङ्क्रियाजको नली, पित्त नली र आमाशयलाई सफलतापूर्वक सानो आन्द्रासँग जोडिएको नोबेल अस्पतालका हेपाटोबिलियरी सर्जन डा. विनितकुमार यादवले जानकारी दिए । जटिल र अफ्ठ्यारो ठाउँको अप्रेसन भएकाले चिकित्सकीय विधामा यो शल्यक्रियालाई पेटको सबैभन्दा ठूलो अप्रेसन मानिने डा.यादवले बताए ।

‘पेटमा जति अप्रेसन हुन्छन्, ती मध्ये यो सबैभन्दा ठूलो अप्रेसन हो, चिकित्सकीय विधामै यसलाई पेटको सबैभन्दा ठूलो अप्रेसन भनिन्छ,’ डा.यादवले भने, ‘संवेदनशिल अंगहरू एकै ठाउँमा भएकाले यो अप्रेसन गर्दा थोरै त्रुटि भयो वा अरु अङ्गमा असर परेमा बिरामीको ज्यानै जाने जोखिम हुन्छ, तर हामीले सफलतापूर्वक अप्रेसन गरेका छौं ।’

नोबेलका शल्यचिकित्सक डा.सचिदानन्द शाह, डा.विनितकुमार यादवसहितको टोलीले झण्डै छ घण्टा लगाएर यो अप्रेसन गरेको हो ।

सामान्यतयाः अधिकांश अप्रेसन २/३ घण्टामा सकिन्छ । तर, यसमा धेरै अंगहरू काटेर पुनः जोड्नुपर्ने भएकाले अप्रेसन गर्न पनि धेरै समय लागेको शल्यचिकित्सक डा.सचिदानन्द शाह बताउँछन् ।

एनेस्थेसियोलोजीजिष्ट डा.बन्दना पौडेलले अप्रेसनमा साथ दिएकी थिइन् । चिकित्सकहरूका अनुसार समयमै अप्रेसन नभएको भए क्यान्सर फैलिएर छ महिनाभित्रै बिरामीको ज्यान जानसक्ने जोखिम थियो । तर, अब कुरुङवाङको शरीरबाट क्यान्सर निर्मूल भएकाले तत्कालका लागि यो जोखिम टरेको चिकित्सकहरूको भनाइ छ ।