बेलबारीमा मृत अबस्थामा भेटियो जंगली हात्ती

  • २९ श्रावण २०८१, मंगलवार

मोरङ बेलबारीमा एउटा जंगली हात्ती मृत अबस्थामा फेला परेको छ ।
बेलबारी नगरपालिका ३ करमडाँडामा रहेको निजी वन क्षेत्रमा संकास्पद अबस्थामा करिब दुई तीन बर्षको पोथी हात्ती मृत अबस्थामा फेला परेको हो ।
मंगलबार बिहान २ बजेतिर त्यहाँ दुई- तीनवटा हात्ती देखा परेका थिए । दुई बजेतिर मानिसहरूको होहल्ला सुनेर उठ्दा हाती आएर थाङ्रोमा राखेको मकै खान थालेपछि आफुहरु भागेर छिमेकीको घरमा पुगेको हात्ती मरेको स्थान नजिकै घर भएकी कल्पना राइले बताइन् ।
हात्ती मरेको थाहा पाउनेबित्तिकै करिब तीन बजेतिर इलाका प्रहरी कार्यालयको प्रहरी टोलीले हात्ती मरेको स्थानलाई शिल गरेको थियो । मंगलबार बिहानैदेखि हात्ती हेर्ने सर्वसाधारणको भिड लागेको छ । हात्तीको मृत्यु वा हत्या हो भन्ने अनुसन्धानका लागि कोशी टप्पुबाट आएको बिज्ञ टोतीले हात्तीको पोष्टमार्टम गरेको छ । पोष्टमार्टमपछि घटनाबारे थप अनुसन्धान हुने सब डिभिजन वन कार्यालय बेलबारीका अधिकृत राजेन्द्र घिमिरेले बताए ।
घटनास्थल नजिकै बिजुलीको तार फालिएको अबस्थामा भेटिएकोले हात्तीलाई कसैले करेन्ट लगाएर मारेको अनुमान गरिएको छ ।
त्यसो त बेलबारी क्षेत्रमा बीस बाइस वटा हात्ती प्रवेश गरेका छन् । सोमबार बेलुका आफुहरुले माउ- बच्चा गरी बीसवटा हात्ती देखेको बेलबारी ३ सिमपाने चोकका बिशाल बिश्वकर्माले बताए ।