एनसीसी तालिम लिँदै रेडस्टार माविको ५० औं ब्याचका तीन दर्जन विद्यार्थीहरु

  • ३ भाद्र २०८१, सोमबार

पथरी समाचारदाता । यस बर्ष मोरङको पथरी शनिश्चरे -२ मा रहेको रेडस्टार माविका ३६ जना विद्यार्थीहरु एनसीसी तालिममा सहभागी भएका छन् । विद्यालयबाट यस वर्षको लागि ३६ जना विद्यार्थीहरु एनसीसी तालिममा छनौट भएका हुन् ।
मोरङका विभिन्न विद्यालयहरूबाट राष्ट्रिय सेवा दल (एन. सी.सी.) को जुनियर डिभिजन तालिम लिइरहेका छन् । रेड्स्टारका ५० औं ब्याचका विद्यार्थीहरूले लिइरहेको  तालिमको आइतबार निरीक्षण तथा अनुगमन भएको छ । राष्ट्रिय सेवा दल पूर्व तालिम शिक्षालय, मोरङ (याङ्शीला) का प्रमुख सेनानी राज कुमार बस्नेतको नेतृत्वमा आएको निरीक्षण तथा अनुगमन टोलीले रेडस्टार माविमा भैरहेको ‘एनसीसी ट्रेनिङ’ अवलोकन तथा अनुगमन गरेको हो।
तालिममा सहभागी विद्यार्थीहरुलाई सेवा दल मोरङका प्रमुख सेनानी राजकुमार बस्नेत, तालिमका प्रशिक्षकहरु राजु बस्नेत, महेश थापा मगर, चन्द्र विनोद दहाल, समेतले आवश्यक जानकारी तथा निर्देशन सहितको ब्रिफिङ दिनु भएको थियो।

सोहि क्रममा रेडस्टार माविका निर्देशक तथा प्रिन्सिपल टि. एन. तिम्सिनाले आफ्नो विद्यालयका छात्र- छात्राहरुलाई राष्ट्रिय सेवा दलमा संगठित गरी भविष्यमा राष्ट्र सेवामा समर्पित हुने अवसर दिएकोमा आभार सहित प्रशंसा गर्नु भएको थियो। सोहि क्रममा तालिमको निरीक्षण तथा अनुगमन गर्न आएको टोलीका सदस्यहरुलाई  रूद्राक्ष माला लगाई मायाको चिनो प्रदान भएको थियो। उक्त अवसरमा राष्ट्रिय सेवा दल तालिम शिक्षालय याङ्सिला मोरङका प्रमुख सेनानी राजकुमार बस्नेतले विद्यालय परिवारले न्यानो आतिथ्यता तथा सम्मान प्रकट गरेको भन्दै आभार प्रकट गर्नुभएको थियो।

रेडस्टार माविका भाईस प्रिन्सिपल बसन्त मादेनले संचालन गर्नुभएको सो कार्यक्रममा विद्यालयका संन्चालक समिति सदस्य राजु तिम्सिना लगायतको पनि उपस्थिति  थियो।