भब्य रूपमा सम्पन्न भयो बेलबारीमा आयोजित प्राथमिक उपचार सम्बन्धि नि:शुल्क तालिम

  • २१ आश्विन २०७५, आईतवार

मोरङको बेलबारीमा एकदिने  नि:शुल्क प्राथमिक उपचार तालिम सम्पन्न भएको छ ।

डिस्कोभरी रोयल स्पोर्ट्स एलएलसी दुवइ, डिस्कोभरी रोयल स्पोर्ट्स प्रालि र बेलबारी कृषक दाना उद्योगको आयोजना एबम बेलबारी नगरपालिकाको सहकार्यमा तालिम भएको हो ।

तालिममा नायक रमेश उप्रेती, हास्य कलाकार निर्मल शर्माको पनि आतिथ्यता थियो । बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीको प्रमुख आतिथ्य तथा उपमेयर ढाकाकुमारी पराजुताको बिशेष आतिथ्यतामा भएको तालिम उद्घाटन कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु पनि अतिथिका रूपमा उपस्थित थिए । कार्यक्रम सन्तोष प्रसाइंको अध्यक्षतामा भएको थियो ।

बेलबारी १ स्थित मदन मोहन पुष्परत्न सांस्कृतिक भवनमा भएको तालिममा करिब डेढसयभन्दा बढी मानिसहरूको सहभागिता थियो ।

हालसम्म बिश्वभर अढाई लाख मानिसहरुलाइ प्राथमिक उपचार तालिम दिइसकेको डिस्कोभरी रोयल स्पोर्ट्सका ओम उप्रेतीले तालिम दिएका थिए । तालिममा विद्यालयका स्वास्थ्य बिषयका शिक्षक शिक्षिका, सुरक्षाकर्मी, विद्यार्थी लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि र ब्यक्तिहरुको उत्साहपुर्ण सहभागिता थियो । तालिममा सहजकर्ता रोयल डिस्कोभरी स्पोर्ट्सका प्रबन्ध निर्देशक ॐ उप्रेतीले १५ वटा शिर्षकमा तालिम दिएका थिए । तालिममा सहभागीहरु निकै उत्साह र सक्रिय देखिन्थे । उप्रेतीले सैदान्तिक र प्रयोगात्मक बिधिबाट बेहोस भएको, हातखुट्टा भांचिएको, छारेरोग, सर्पको टोकाइ, बिष सेवन, करेन्ट लागेको, आगोले पोलेको, घाउ चोट भइ रगत बगेको र हर्ट एट्याक भएको जस्ता अबस्थामा गर्न सकिने प्राथमिक उपचारका बारेमा तालिम दिएका थिए ।

सहभागीहरुले आफुहरुले हालसम्म यसप्रकारको तालिम लिने मौका नपाएको र तालिम अत्यन्तै उपयोगी भएको प्रतिक्रिया दिएका छन् । हाल एमबिबिएस समेत अध्ययन गरिरहेका स्वास्थ्यकर्मी सुजन अधिकारीले तालिमबाट आफुले  पहिलोपटक प्राथमिक उपचार सम्बन्धि आधारभूत ज्ञान हासिल गरेको बताए । रोयल डिस्कोभरीले हालसम्म नेपालका आठवटा जिल्लामा यस्तो तालिम दिइसकेको  छ ।