भूपेन्द्र तिम्सिनालाइ ‘राजेश्वर रेग्मी साहित्य पुरस्कार’

  • ४ भाद्र २०७५, सोमबार

मोरङको पथरीशनिश्चरेका पत्रकार एवम् साहित्यकार भूपेन्द्र तिम्सिना ‘राजेश्वर रेग्मी साहित्य पुरस्कार’ विराटनगरबाट पुरस्कृत भएका छन्  ।

उद्घोष दैनिकको १४ औं वार्षिकोत्सवका अवसरमा आइतबार  १ नम्वर प्रदेश प्रमुख प्रा.डा. गोविन्द तुम्बाहाङ, उद्घोषका सम्पादक मोहन भण्डारी र राजेश्वर रेग्मी पुरकारका संरक्षक नन्दराज रेग्मीले सम्मानपत्र र दोसल्ला सहित ११ हजार नगदको सो पुरस्कार तिम्सिनालाई प्रदान गर्नुभयो । गजलकार राजेश्वर रेग्मीको स्मृतिका उहाँका परिवारले स्थापना गरेको पुरस्कार गजल क्षेत्रमा विशेष योगदान दिनेहरुलाई प्रदान गरिदै आएको छ ।

२ दशक अघिदेखि पत्रकारितामा सक्रिय तिम्सिना विगत २५ वर्षदेखि साहित्यको गजल र कविता विधासंगै अभिनय कलाकारितामा पनि सक्रिय छन् । यस अघि सो पुरस्कार दधिराज सुवेदी, मधु पोखरेल, खोलाघरे साहिलो, हरि कट्टेल, ज्योति जंगल, टीका आत्रेय र विवशवलिभद्र कोइरालालाई प्रदान गरिसकिएको छ ।

सो कार्यक्रममा कान्तिपुर दैनिकका सम्पादक नारायण वाग्लेलाई नगद ५१ हजार १ सय ११ रुपैयाँको केशवराज –सूर्यराज दहाल स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । विराटनगर २ निवासी समाजसेवी उनका दाजु स्वर्गीय केशवराज र कमलराजको स्मृतिमा कोषखडा गरी पुरस्कारको शुरुवात गरेका हुन्  ।