पुर्वी नेपालको अर्को पर्यटकीय गन्तव्य बन्दै रमिते डांडा

  • ८ पुष २०७४, शनिबार

अम्बिका भण्डारी, बेलबारी, मोरङ । मोरङको  बेलबारी नगरपालिका २ लालभित्तिमा अबस्थित रमिते सामुदायिक वनले रमिते डांडामा यस बर्ष करिब १२ लाख लगानी गरेर आकर्षक पर्यटकीय स्थल  बनाएको छ ।

खासगरी बनभोज अर्थात पिकनिकका लागि अति नै उपयुक्त रमिते डांडामा रमिते सामुदायिक वनले सडक, खानेपानीका धारा, शौचालय  तथा कटेजहरुको निर्माण तथा ब्यबस्था गरी आकर्षक पर्यटकीय स्थल बनाएको हो ।
सामुदायिक वनका अध्यक्ष प्रेम राइका अनुसार यसबर्ष पिकनिक स्पोटको पुर्वाधारका लागि सामुदायिक वनले बार्षिक बजेटमा  पर्यटन प्रबर्द्धन शिर्षकमा ६ लाख रुपैयाँ बिनियोजन गरेको थियोे । तर काम थालेपछि सो रकम अपुग भएकोले यसैबर्ष करिब १२ लाख रुपैयाँ खर्च भएको राइले बताए ।

वनको पुर्व योजना अनुसार रमिते डांडामा ६ वटा कटेज चौतारी निर्माण भएका छन् । त्यसैगरी सो स्थानमा जाने सडकको मर्मत भएको छ भने खानेपानीको ब्यबस्थाका लागि ट्यांकी समेत निर्माण भएको छ । योजना अनुसार पुर्वपट्टीको होचो भागबाट बोरिङ गरी पानी तानेर ट्यांकीमा जम्मा गरी ठाउँ ठाउँमा धाराको ब्यबस्था हुनेछ ।

त्यस्तै सो क्षेत्रमा शौचालयको समेत ब्यबस्था गरिनेछ ।
मसला लगायतका विभिन्न बोटबिरुवाले गर्दा थप आकर्षक देखिने रमिते डांडाको करिब  ३ बिघा क्षेत्रफलमा तारबार समेत लगाइएको छ । यस स्थलमा बर्सेनि लगानी थप गर्दै जाने र यसलाई  पुर्वको एक आकर्षक पर्यटकीय गन्तव्य बनाउने योजना रहेको वनका अध्यक्ष राइले बताए ।

बेलबारी नगबेलबारीले पनि रमिते डांडाको बिकास र प्रबर्द्धनका लागि सहयोग गर्ने आश्वासन दिएकोले आगामी बर्ष मिनी चिडिया घर र भ्यू टावर समेत बनाउने योजना रहेको उनले बताए ।
पुर्व पश्चिम सडकमा अबस्थित लालभित्ती चोकबाट करिब अढाई किलोमीटर उत्तरमा अबस्थित यो ठाउँको पुर्वपट्टी बस्ती रहेको छ , जुन  बेलबारी २ र केराबारी ९ को सिमानामा पर्छ ।पश्चिमतिर चारकोसे जंगलको छेवैमा अबस्थित यो ठाउँ अग्लो स्थानमा रहेकोले यहाँबाट वरपरका दृश्यहरु अबलोकन गर्न सकिन्छ ।