जनप्रतिनिधि आएयता १५ महिने अबधिमा के के उल्लेखनीय काम गर्यो बेलबारी नगरपालिकाले ?

  • १० भाद्र २०७५, आईतवार

बेलबारी नगरपालिकाको प्रथम अधिवेशनबाट चालु आर्थिक वर्ष २०७४/०७५ का लागि कुल ६६ करोड ४ लाख २ हजार २ सय २ रुपैँया ९२ पैसाको बजेट प्रस्तुत गरेको थियो । आर्थिक वर्ष २०७५/०७६ का लागि दोस्रो नगरसभाबाट ८० करोड २ लाख १४ हजार बराबरको बजेट विनियोजन भएको छ ।  जनप्रतिनिधि आएयता दोस्रो आर्थिक बर्षसम्म आइपुग्दा के कस्ता उल्लेखनीय काम गर्यो त बेलबारी नगरपालिकाले ? प्रस्तुत छ उत्तम पोख्रेलको रिपोर्ट 

६५ जनाभन्दा बढी पाँच प्रकृतिका विरामीले लिए  २५ हजार
निर्बाचित भएर आएको केहि महिनामै नगरपालिकाका जनप्रतिनिधिले ५ प्रकारका रोगी, विरामीहरुलाई उपचारका लागि प्रतिब्यक्ति २५ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो । नगर कार्यपालिकाको बैठकबाट क्यान्सर, मुटुरोगी, मृगौला प्रत्यारोपण, बोनम्यारो ट्रान्सप्लान्ट, स्पाइनलकड इन्जुरी लगायतका रोग लागेका विरामीहरुलाई सहयोग गर्ने निर्णय गरेको थियोे । अहिलेसम्म ६५ जना भन्दा बढीले उपचारको सहयोग रकम लगिसकेका छन् । त्यो भन्दा बढि निबेदन परेका छन । उपचारर्थ बिरामीलाई बिल ल्याएर पेश गरेको एक हप्तामा पैशा दिने प्रबक्ता योगेन्द्र सुबेदीले बताए ।
डेढ दर्जन भन्दा बढी स्वास्थ्य शिविर सञ्चालन
जनप्रतिनिधि आएयता करिब १५ महिने अबधिमा डेढदर्जन भन्दा बढी स्वास्थ्य शिविर सचालन भएका छन । आम नागरिकको स्वास्थ्यको पहुँच नपुगेका बस्तीमा नै पुगरे नगरपालिकाले स्वास्थ्य शिविर सञ्चालन गरेको हो। सबै निरोगी भए मात्रै विकास हुने भन्दै नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको उपमेयर ढाकाकुमारी पराजुलीले बताईन् ।
बेलबारी नगरपालिकाले बृद्ध बृद्धादेखि वालबालिका कुष्ठरोग, कुपोषण, एचाइभि एडस, महिलाहरुको स्वास्थ्य परिक्षण र उपचार गराएको प्रवक्ता योगेन्द्र सुबेदीले बताए । जेष्ठ नागरिकलाई लक्षित गरेर नगरपालिकाले जेष्ठ नागरिक भवनमा नै बृद्धबृद्धाको स्वास्थ्य परीक्षण गराएको छ । जेष्ठ नागरिकले  पहिलोपटक सुगर प्रेसरदेखि ईसीजीसहितको स्वास्थ्य परिक्षण सेवा पाएका छन ।
त्यसैगरी १ हजार भन्दा बढी विरामीको उपचार गरिएको नगरपालिकाका स्वास्थ्य सहसंयोजक सन्तोष विश्वकर्माले बताए ।

बेलबारी कुष्ठरोगको समेत उच्च जोखिममा रहेको पाइएको छ । बेलबारीमा एक दर्जन जति कुष्ठरोगी भेटिएका छन् । नगरपालिकाले गाँउगाँउमा गएर कुष्ठरोगीको खोजी गरेर उनीहरुको उपचार गरेको छ । बालबालिका तथा महिलाहरुलाई छुट्टै शिविरको आयोजना गरिएको थियो ।
सामुदायिक बिद्यालयतर्फ आमुल परिबर्तन
सरकारी विद्यालयप्रति विद्यार्थी तथा अविभावकको आकर्षण बढाउनदेखि शिक्षकलाई कडाई गर्न बेलबारी नगरपालिकाले नयाँ रणनीति अपनाएको छ । नगरपालिकाले शिक्षकलाई सम्मान गर्ने, विद्यार्थीलाई खाजा खर्चदिने र  विद्युतिय हाजिरीको सिस्टम जडान गरिसकेको छ । सामुदायिक विद्यालयप्रति अविभावकको मात्रै होईन विद्यार्थीको पनि आकर्षण दिन प्रतिदिन घटदै जान थालेपछि नगरपालिकाले चासो देखाएको छ ।

बिधुतिय हाजिरीको जडानसगै बिद्यालयमा पठन पाठनमा सुधार देखिएको प्रबक्ता सुबेदीले दाबी गरे । शिक्षकहरुलाई समेत नगरपालिकाले सम्मान गरको छ । बिषय गत १० जना शिक्षक तथा एक बिद्यालयलाई नगरपालिकाले सम्मान गरेको हो । महँगो शुल्क तिरेर निजी विद्यालयतिर विद्यार्थीको आकर्षण बढ्न थालेको बेला विद्यालय सुधार योजना नै लागू गरेर नगरपालिकाले नयाँ शैक्षिक रणनिती अपनाएको छ ।

सरकारी विद्यालयको गुणस्तर उकास्नका लागि विभिन्न खालका कार्यक्रम ल्याएको बेलबारी नगरपालिकाले जनाएको छ । खाजा खर्चले बिद्यार्थीको आकर्षण सामुदायिक बिद्यालय तर्फ वढिरहेको छ । नगरपालिकाले बाल बिकास केन्द्रमा पढने बिद्यार्थीलाइ खाजा खर्चको ब्यबस्था गरेको थियो ।

बेलबारी नगर क्षेत्रमा जम्मा ३२ वटा विद्यलाय रहेका छन् । २१ वटा आधारभूत रहेका छन् भने ११ वटा माध्यमिक विद्यालय रहेका छन् । कसैलाई पनि शिक्षाको उज्यालो घामबाट बन्चित हुन नदिने गरी नगरपालिकाले शैक्षिक क्षेत्रको गुणस्तर बढाउने खालको कार्यक्रम ल्याएको मेयर ज्ञानेन्द्र सुबेदीले बताए ।

कम्प्युटर तथा पुस्तकालय सहितको पठन–पाठन गर्न नगरपालिकाले ताकेता गर्न थालेसँगै विध्यालय पनि त्यसमा लागिपरेका छन् । विधार्थीहरुलाई निजी विध्यालय जस्तै पठन–पाठन गर्नेगरी आईटीमैत्री विध्यालयको व्यवस्था गरिएको लक्ष्मी माध्यमिक विध्यालयका प्रधानाध्यापक गोविन्द भण्डारीले बताए ।

माध्यमिक तहसम्मको पठन–पाठन हुने गरेको कबिर विध्यालयमा एकजना पनि मावि दरबन्दीका शिक्षक छैनन् ।माध्यमिक विध्यालयमा दरबन्दी नभए पनि पुस्तकालय तथा कम्प्युटरबाट पठन–पाठन भने गरिरहेको कबिर माध्यमिक विध्यालयका प्रधानाध्यापक दुर्गाप्रसाद गौतमले बताए । एउटै कम्प्युटरबाट २० जनाभन्दा बढी विध्यार्थीले पढ्न पाउने व्यवस्था गरिएको प्रअ गौतमले बताए ।
एक घर दुई बिरुवा अभियान
नगरपालिकाले हरित नगरी नगर बनाउने लक्ष्यका साथ एक घर दुई बिरुवा अभियान सारेको छ । नयाँ घर बनाउदा तथा पिच भएको सडकको किनारमा आफनो जग्गामा दुई वटा बिरुवा रोपे मात्रै घर नक्सा पास हुने नगरपालिकाका प्रबक्ता सुबेदीले बताए ।

शैाचालय नबनेका घरको घरनक्सा पास नहुने

खुल्ला दिशामुक्त नगर समेत घोष्णा गरीएको नगरपालिकामा शैाचालय नबनेका घरको घर नक्सा समेत पास नहुने भएको छ । १२ हजार ८ सय ९२ घरधुरीमा शौचालय बनेपछि नगरपालिकालाई खुल्ला दिशा मुक्त घोष्णा गरीएको थियो ।नयाँ बनिरहेका तथा नयाँ बन्ने घरमा शौचालय निर्माण भएको नपाईए नगरले दिने सेवासुबिधासमेत रोक्ने नगरपालिकाले जनाएको छ । शौचालयको फोटो खिचेर ल्याए मात्रै घरको नक्सा पास गरिने नगरपालिकाका प्रवक्ता योगेन्द्र सुबेदीले बताए ।
पर्यटन प्रबर्द्धनमा चासो
पर्यटकीय क्षेत्रको हबका रुपमा नगरलाई चिनाउन नगरपालिकाले विभिन्न खालका रणनीति अपनाउन थालेको छ । बेतना सिमसार, धनपालथान लगायतका पर्यटकीय क्षेत्रसँगै बेलबारीमा अन्य पर्यटकीय क्षेत्रको संरचना बन्न थालेका छन् ।
बेलबारी २ र सुन्दरहरैंचा १० को सीमाना बासुकी ताल निर्माणको अन्तिम चरणमा रहेको छ भने बेलबारी २ मै रहेको रमितेमा सुरुङमार्गसहित भ्युटावर तीब्र गतिमा बनिरहेको छ ।
घर घरमै गएर बृद्धबृद्धा सम्मान
घरघरमै गएर बेलबारी नगरपालिकाले बृद्धबृद्धालाई सम्मान गरेको छ । गाउँमानै गएर नगरपालिकाले ९३ वर्ष भन्दा माथिका बृद्धबृृद्धाको सम्मान गर्न थालेको हो । हामीले चुनावका बेला भनेका थियौ घर–घरमा आएर बुबा आमाको आर्शिवाद थाप्छौ भनेर मेयर ज्ञानेन्द्र सुबेदीले भने अहिले उहाँहरुको आर्शिवाद थापेका हौ । धेरै बुबा आमा बृद्धआश्रममा बसि रहेका बेला बेलबारी नगरपालिकाले भने घरघरमै पुगेर सम्मान गर्न थालेको छ । बृद्धबृद्धाले समेत खुसी ब्यक्त गर्दै भोट खेर गयो भन्ने चिन्ता नरहेको बताएका छन् ।
पहिलो पटक घरमै आएर सम्मान गर्दा खुसी लागेको छ । बेलबारी ९ की रणमाया गुरुङले भनिन् सँधै नगरपालिकाले यसरी नै सम्मान गरी राखोस ।

  बृद्धबृद्धाहरुबाट नगरले केहि सिक्न तथा भावि पिढीहरुलाई सिकाउनका लागि नगरपालिकाले सम्मान गरेको उप मेयर ढाका पराजुलीले बताईन । नगरका लागि बृद्धबृद्धा भनेका गहना हुन, उनीहरुबाट समाजले सिक्न धेरै बाँकी छ । प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद दाहालले भने उहांहरुको सुझाब सल्लाहा लिनसमेत गाँउ गएका हौ । झन्डै सय बृद्द बृद्दालाइ घरमै पुगेर नगरपालिकाले पहिलो पटक लौरो, जुस, हर्लीकस, नगद एक हजार, दोसल्लाले सम्मान गरेको छ ।
यस्ता छन् न्यायिक समितिले गरेका काम
स्थानीय अदालतमा मुद्दाको ओईरो लाग्न थालेको छ । अदालतमा जाने तथा प्रहरीले मिलाउने मुद्दासमेत अहिले स्थानीय अदालतका रुपमा स्थापना भएको न्यायिक समितिमा पर्न थालेका छन् ।
सम्बन्ध बिच्छेदका घटनासमेत नगरपालिका न्यायिक समितिमा आउने गरेको बेलबारी नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समितिकी संयोजक ढाकाकुमारी पराजुलीले बताइन् । उनका अनुसार आ.व.०७४/०७५ मा मात्रै २ सय १९ वटा मुद्दा समितिमा दर्ता भएका थिए  ।
जसमध्ये १ सय ४२ वटा मुद्दाको छिनोफानो समितिले गरेको छ । ३ वटा मुद्दा अदालत पठाएको उपप्रमुख तथा संयोजक पराजुलीले बताइन् । मेलमिलापको माध्यमबाट न्यायिक समितिले मुद्दाको फैसला गर्ने गरेको छ ।
‘२३ वटा उजुरी प्रक्रियामा छन्’ संयोजक पराजुलीले भनिन्, ‘१३ वटाको मिलापत्र मात्र गर्न बाँकी रहेको छ । अन्य ३८ वटा भने हर्न बाँकी रहेको उनले बताएकी छन् । यो तथ्याक असार मसान्त सम्मको हो ।
बेलबारीको पहिचानका लागी बेलको बिरुवा
बेलबारी नगरपालिकाको सहयोगमा अमना सिसौली सामुदायिक वनले बेलबारीको पहिचान समेत विरुवामार्फत खोजेको छ । बेलका रुख धेरै भएका कारण बेलबारी भएको भन्ने केही वृद्धवृद्धाको भनाई रहेको छ । केही इतिहासकारले बेल धिमाल थर बसोवास गरेका हुनाले बेलबारी नाम हुन गएको बताउँछन् । जे भएपनि  सामुदायिक वनले बेलबारीको पहिचानका लागि बेलको विरुवा रोप्ने अभियान थालेको छ ।
गरिवसँग नगरपालिका
बेलबारी नगरपालिकाले दोस्रो नगरसभावाट गरिवसँग नगरपालिका कार्यक्रम ल्याएको छ । गरीबी निवारण न्यूनिकरण गर्ने उद्देश्यका साथ गरिबसँग नगरपालिका कार्यक्रम ल्याएको नगरपालिकाले जनाएको छ । समूह बनाएर लक्षितवर्गसम्म पुग्ने गरी नयाँ कार्यक्रम ल्याएको मेयर ज्ञानेन्द्र सुबेदीले बताए । विभिन्न सीपमुलक तालिम, रोजगारमुलक कार्यक्रम तथा समूहमा श्रम आदान प्रदान गर्ने खालको कार्यक्रम ल्याएको मेयर सुबेदीले बताए ।
मेयर भन्छन् कर बढाइएको छैन
स्थानीय सरकारले कर वृद्धि गरेको भन्दै देशभर विरोधका कार्यक्रम भइरहेका छन् । सबैजसो जिल्लाका स्थानीय तहमा करवृद्धिको विरोध भइरहको छ । तर मोरङको बेलबारी नगरपालिकाले भने १८ वटा शीर्षकमा कर नलिएको जनाएको छ ।
। नगरपालिकाले दिएको जानकारी अनुसार बेलबारी नगरपलिकामा सहकारी संस्थाहरूको नवीकरण, नयाँ सहकारीको दर्ता, साना मझौला तथा ठूला उद्योगमा आगलागी भएको सिफारिश, वैैदेशिक रोजगारमा मृत्यु भएका व्यक्तिको सिफारिशमा कुनै शुल्क नलाग्ने भएको छ ।
त्यस्तै, दलित तथा अपाङ्ग, परिचयपत्र सिफारिश, सार्वजनिक मन्दिर, गुठी, अस्पताल सामुदायिक विद्यालय, गुम्बा आदिमा गरिने सिफारिशमा पनि शुल्क नलाग्ने भएको हो । जन्म दर्ता, मृत्यु दर्ता, बसाइँसराइँ दर्ता, विवाह दर्ता, सम्बन्ध विच्छेद दर्ता सिफारिश पनि निःशुल्क हुने बताइएको छ ।
अल्पसङ्ख्यक दलित, गरिब, सबै प्रकारका अनुसूची फारम, औषधी, एम्बुलेन्स र दमकलमा पनि शुल्क नलाग्ने नगरले जनाएको छ । भारी नबोकेका मालवाहक सवारी, शववाहन, मोटरसाइकल, उपचारको लागि गरिने सिफारिश पनि निःशुल्क गरेको छ । नगरपालिकाले जथाभावी  कर बढाएको भन्ने हल्ला मात्रै भएको मेयर ज्ञानेन्द्र सुबेदीले बताए ।