मोरङमा भएका यी सात अपराध, जसले प्रदेश सदरमुकामको सुरक्षामै प्रश्न उठाए

  • ११ भाद्र २०७५, सोमबार

तीन हप्तासम्म पनि पहिचान नै खुलेन बलात्कारपछि हत्या भएकी युवतीको

विराटनगरमा गत साउन १८ गते एक युवतीको शव नग्न अवस्थामा फेला परेको थियो।  बिराटनगर  १४ स्थित जतुवा नहर छेउको रेल्वे ट्रयाकको कल्र्भटमा अन्दाजी २२ वर्षीय युवतीको शव भेटिएको थियो। तराईमूलको जस्तो देखिने ती युवतीको शवको हालसम्म सनाखत हुन नसकेको मोरङ प्रहरीले जनाएको छ। शव नाङ्गो अवस्थामा भेटिएकोले बलात्कार गरी सो ठाउँमा फालिएको हुनसक्ने आशंका गरिएको छ। घटनाको विषयमा अझै अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

विद्यार्थी हत्याको एक महिनामा पनि पक्राउ परेनन् अपराधी

गत साउन १६ गते विराटनगरस्थित नोबेल मेडिकल कलेजमा पढदै गरेका विद्यार्थीको रहस्यमय मृत्यु भएको थियोे । बाराको कोल्भी नगरपालिका ८ घर भई विराटनगरस्थित नोबेल मेडिकल कलेजमा एमबिबिसको अन्तिम वर्षमा अध्यनरत २५ वर्षीय सौरभ उप्रेती कोठामै मृत फेला परेका थिए ।  सौरभको मुत्यु भएको १ महिना पुगिसक्दा पनि मृत्युुबारे प्रहरीले न कुनै बिवरण सार्वजनिक गरेको छ, न त कसैलाई पक्राउ  गर्न सकेको छ ।
अन्तिम वर्षको परीक्षा दिइरहेका विद्यार्थी उप्रेती सुतेकै कोठामा खाटमुनि फेला परेको थिए । राति अवेरसम्म साथीहरूसँगै पढेर सुतेका सौरभको घाँटीमा र शरीरमा चोट देखिएको थियो।  सौरभको मृत्युको रहस्य पत्ता लगाउन उच्चस्तरीय टोलीबाट सुक्ष्म अनुसन्धान भइरहेको मोरङ प्रहरीले  जनाएको छ।

प्रहरीका अनुसार शव परीक्षणपछि सौरभको भिषेरा र कोठमा फेला परेका ल्यापटप र तार र अन्य सामग्रीहरू जाँच गर्न विधि विज्ञान प्रयोगशालमा पठाइएको छ। विस्तृत रिर्पोट आइसकेपछि मात्र सौरभको मुत्युको रहस्य पत्ता लाग्ने प्रहरीको दाबी छ। तर, महिनादिन पुगिसक्दा पनि सौरभको मृत्युको कारण पत्ता नलाग्दा घटना थप रहस्यमय बनेको छ ।

पत्तो लागेन महानगरमा बम पड्काउने पनि

गत २७ गते साउनमा विराटनगर महानगरपालिकाभित्र भएको बम विष्फोटको घटना पनि अझै रहस्यमय छ । बम कसले र किन विष्फोट गराएको  हो भन्नेबारे अझै आधिकारिक पुष्टि भएको छैन । हालसम्म बम पड्काउने कोही पनि पक्राउ परेका छैनन्  ।

बम विष्फोटमा संलग्न भएको आशंकामा केही मानिस पक्राउ गरिएको भएपनि उनीहरू निर्दोश ठहरिएका थिए ।  महानगरको सिसिटिभी फुटेजबाट दोषीसम्म पुग्ने प्रहरीको अपेक्षा थियो तर महानगरको सिसिटिभीमा कुनै पनि रेकर्ड फेला नपरेको बताइएको छ ।

त्यहाँ  ८ वटा सीसी क्यामेरा जडान गरी प्रमुख भीम पराजुलीले कार्यकक्षबाट त्यसको निरीक्षण गर्ने गरेका थिए। पराजुलीका अनुसार महानगरको सिसिटिभी अपडेट थियो र रेकर्ड पनि नियमित थियो। महानगरले सिसिटिभी जडान गरेको भए पनि रेकर्डिङ मोडमा नराखिएकाले बम विष्फोटको दिन महानगरको गतिविधि रेकर्ड नभएको प्रहरीले जनाएको छ। सीसीटीभीको रेकर्ड नभेट्दा अनुसन्धान लम्बिएको प्रहरीको भनाइ छ।

बम पड्काउनकै लागि सिसीटिभी रेकर्ड बन्द गरिएको हो कि भन्ने पनि आशंका गरिएको छ।  दिनदहाडै अति व्यस्त कार्यालयमा बाम विष्फोट हुनु र महानगरको सिसिटिभीमा त्यसको रेकर्ड नहुनुले महानगरकै कर्मचारीको मिलेमतोमा घटना भएको त हैन भन्ने आशंका पैदा भएको छ। बम  विस्फोटबाट त्यहाँका फर्निचर, झ्यालका सिसा र आगनमा पार्किङ गरिएको प्रमुख चढ्ने गाडीको सिसामा क्षति भएको थियो।

प्रेमिकालाई काटेर मार्ने पक्राउ

भदौ १ गते  सँगै जिउने सँगै मर्ने कसम खाएका प्रेमीबाटै विराटनगरकी एक युवतीको हत्या भएको थियो । विराटनगर–१३ का ३० वर्षीय दिनेश भट्टराइले आफ्नी प्रेमीका २३ वर्षीया शिखा घिमिरेको १ गते बिहानै हत्या गरेका थिए ।

प्रहरीका अनुसार  विराटनगरबाट प्रेमिका शिखाको को १७ प १७२३ नम्बरको स्कुटरमा दुवैजना घुम्न गएका थिए। घुम्न गएको मौकाम एकान्त पारी ग्रामथान गाउँपालिका–३ सिद्राहा पुर्‍याएर दिनेशले शिखाको हत्या गरेको थियो । भट्टराइले आफूसँग रहेको धारिलो हतियार दाउ प्रहार गरेर घिमिरेको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।

हत्यापछि शव नहरको डिलमा फ्यालेर भाग्ने प्रयासमा रहेका दिनेशलाई स्थानीयले नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका थिए। पक्राउ गरिएका उनलाई इलाका प्रहरी कार्यालय बेलबारीले थुनामा राखी अनुसन्धान गरिरहेको  छ।

प्रेमिका युवतीले धोका दिएर अष्ट्रेलिया जान लागेपछि उनको हत्या गरेको दिनेशले प्रहरीसामू बयान दिएका छन्। शिखाले आफूलाई धोका दिएर अष्ट्रेलिया जान लागेको र सम्झाउँदा पनि नमानेकोले घुम्ने बहानाम लगेर हत्या गरेको दिनेशले स्वीकार गरेका छन्। युवतीको अनुहार, घाँटी र पेटमा धारिलो हतियार दाउ प्रहार गरेर वीभत्स हत्या गरिएको प्रहरीले जनाएको छ।

सेक्युरेटी गार्डको वीभत्स हत्या

अज्ञात समूहबाट भएको सेक्युरेटी गार्डको वीभत्स हत्या अर्को अपराध हो । भदौ ३ गते भएको घटनामा बिराटनगर –४ पिपल चौकका ५० वर्षीय टंक भट्टराईको चाँदनी चौकमा रहेको न्यू बिक्की हार्डवेयरमा सुरक्षा गार्डको रूपमा ड्युटीमा रहेको बेला हत्या भएको थियोे ।

निरवकुमार अग्रवालले सञ्चालन गरेको हार्डवेयरमा कार्यरत रहेका भट्टराईको शव वीभत्स अवस्थामा फेला परेको थियो। मृतकका आफन्तले हत्यारालाई कारबाहीको माग गर्दै सडक जाम समेत गरेका थिए। हार्डवेयरमा पाँचजना कर्मचारी र चारजना मजदुर कार्यरत थिए। उनीहरू सबै शनिबार छुट्टिमा बसेका र भट्टराई मात्र रात्रि सुरक्षाका लागि खटिएका बताइएको छ । भट्टराईको हत्या भए पनि हार्डवेयर सञ्चालकले परिवारलाई जानकारी नदिएको पीडित परिवारजनको गुनासो छ।

मृतक भट्टराईको शरीरमा रड, तथा भाला जस्तो हतियारले प्रहार गरेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ। प्रहरीको अनुसार मृतक भट्टराईको शरिरको विभिन्न भागमा चोटपटक लागेको थियो। उनको देव्रे आँखासमेत बाहिर निकालेको अवस्थामा शव फेला पारेको थियो। हत्या भएको ८ दिनपछि विराटनगर ४ जामुनगाछीका २६ वर्षिय सञ्जय सहनीलाई नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।

श्रीमती र छोराछोरीलाई मार्न खोज्ने पक्राउ

विराटनगरमा श्रीमानले गरेको दाउ प्रहारबाट विराटनगरमा श्रीमती र छोरीसहित अन्य एक गम्भीर घाइते भएका छन् । भाद्र ५ गते भएको  घटनामा विराटनगर ११ पिचडाकी ४० वर्षीय श्रीमति पुनम सहनी, उनकी छोरी २० वर्षीया मनिता सहनी र पुनमका भाइ २७ वर्षीय सन्दीप सहनी घाइते भएका छन्।

केहि समयअघि भागी विवाह गरेका सिराहा गोलबाजार निवासी ४५ वर्षीय श्रीमान् दिलीप सहनीले भदौ ५ गते बिहान उनीहरूमाथि दाउ प्रहार गरेर गम्भीर घाइते बनाएका थिए । विराटनगर पिचडास्थित घरमै बसिरहेको अवस्थामा तीनै जनामाथि दाउ प्रहार भएको थियो।

पीडितका अनुसार  गोलबजारबाट आएका दिलीपले एक्कासी दाउ प्रहार गरेका थिए । घाइते तीनैजनाको कोशी अञ्चल अस्पतालमा उपचार गराइएको छ। घाइतेमध्ये पुनमको देब्रे गाला पुरै काटिएको छ भने मनिताको टाउको पछाडि  र सन्दिपको कुम मुनि काटेको चोट लागेको  छ।

दाउ प्रहार गर्ने दिलीपलाई स्थानीयवासीको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको छ। घाइते पुनम र अभियुक्त दिलीप यसअघि नै विवाहित थिए। पुनमको पहिलो श्रीमानको पाँच वर्षअघि मृत्यु भएको थियो भने दिलीपले समेत यसअघि दुईवटा विवाह गरी श्रीमतिलाई छाडिसकेको पारिवारिक स्रोतले जनाएको छ।

मोरङ प्रहरीका एसपी मनोजकुमार केसीले सामाजिक अपराध र भईपरी आउने अपराध चुनौति बनिरहेको बताए। प्रत्येक घटनाको छानबिन भइरहेको र छिट्टै निष्कर्षमा पुगिने उनले दाबी गरे ।

हत्या भएको ८ दिनपछि विराटनगर ४ जामुनगाछीका २६ वर्षिय सञ्जय सहनीलाई नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।

गत भदौ २ गते राति १० बजे टंकको हत्या हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीले पसलमा रहेको सिसी टिभीको फुटेजका आधारमा सहनीलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी मनोज केसीले जानकारी  दिए । भट्टराईसँग रहेको २ हजार ५ सय रकम सहनीले खोसेर लैजान खोज्दा आपसी विवादका कारण हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । भट्टराईको भदौ ३ गते बिहान १० बजे हार्डवेयरभित्र मृत अवस्था शव भेटिएको थियो  ।

सहनीले सुरक्षा गार्ड भट्टराईलाई फलामका रड प्रहार गरी पेट र आँखा रोपेर हत्या गरेको प्रहरीले जनाएको छ । लागूऔषध सेवन गर्ने सहनी ठेला चलाउँदै आएका थिए । हार्डवेयरमा पनि पटक–पटक सामान ओसारपसार गर्ने काम गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

पत्ता लागेनन्  स्कुलको  पानीट्यान्कीमा बीष हाल्ने अपराधी
मोरङको लेटाङ नगरपालिकाको जाँतेमा रहेको श्री माबिको पानीट्याङ्कीमा बीष हाल्ने अपराधी घटनाको दुई हप्ता नाघिसक्दा पनि पत्ता लाग्न सकेको छैन ।

धाराको पानी खांदा एकैएकैपटक करिब ३ दर्जन विद्यार्थी बिरामी भएपछि पानी ट्याङ्कीमा बीष हालेको रहस्य खुलेको थियोे । पछि ट्याङ्कीमा हेर्दा साईपर मेथिन १० नामको किरा मार्न प्रयोग हुने बिषादीका अबषेश भेटिएको थियो ।