बेतना सिमसारको तेस्रो बार्षिक साधारणसभा सम्पन्न, सिमसारको २० बर्षे गुरुयोजना सार्वजनिक

  • २४ जेष्ठ २०७५, बिहीबार

बेतना सिमसार सामुदायिक वन उपभोक्ता समुहको तेस्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

मोरङ बेलबारीस्थित बेतना सिमसार परिसरमा भएको साधारणसभामा उल्लेख्य उपभोक्ताहरुको  उपस्थिति थियोे । साधारणसभा सामुदायिक वनका अध्यक्ष डम्बर बस्नेतको अध्यक्षता र बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीको प्रमुख आतिथ्यतामा भएको हो । एघार बजे शुरु गर्ने भनिएपनि ढिलो भएपछि साढे एक बजेसम्म  विभिन्न कलाकारहरुले गीत प्रस्तुत गरेका थिए । कार्यक्रम शुरु गर्दा पौने दुई बजेको थियोे ।

बेतना सिमसारकी सचिब निशाकिरण राइले सञ्चालन गरेको कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, संघ संस्थाका प्रतिनिधि, संचारकर्मी लगायत सिमसार समितिका सबैजसो  सल्लाहकारहरुको पनि उपस्थिति थियो । कार्यक्रममा इन्दिरा कार्कीले स्वागत मन्तब्य दिएकी थिइन् ।

बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले पानसमा बत्ती बालेर र बिरुवामा पानी हालेर साधारणसभाको उद्घाटन गरेका थिए । उद्घाटन लगत्तै बेतना सिमसारका संस्थापक अध्यक्ष स्व. बिष्णु बस्नेतको फोटोमा माल्यार्पण गरिएको थियो । कार्यक्रममा बेतना सिमसारका सल्लाहकार महेन्द्र सुवेदी, परशुराम सुवेदी, डिपी राई, तिलक राइ लगायतले शुभकामना दिएका थिए ।

सामुदायिक वनले साधारणसभाकै अबसरमा पन्चज्योती आधारभूत विद्यालयलाइ १ लाख २०  हजार रुपैयाँ, वडा नम्बर ४ को खुल्ला दिशामुक्त अभियानलाई १ लाख रुपैयाँ र नयाँ बेतना पैनी उपभपभोक्ता समितिलाइ पैनी मर्मतका लागि सहयोग गरेको छ ।

कार्यक्रममा बोल्दै बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले सामुदायिक वनबारे संघिय संसद र प्रदेशले कानुन बनाउने काम गरिरहेकोले कानुन बनिसकेपछि सामुदायिक वन संचालनमा सहजता आउने बताए । उनले बेलबारी नगरपालिकाले सिमसारलाई राष्ट्रिय स्तरको हुनेगरी  बिकास गर्न जस्तोसुकै सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले बेतना सिमसारको बिकासका लागि केन्द्रिय सरकारसंग माग पेस गरेको र यसलाई प्रदेश १ को गौरवको योजना बनाउन प्रदेश सरकारले पनि प्रतिबद्धता जनाएको जानकारी दिए ।

साधारणसभामा समितिका अध्यक्ष डम्बर बस्नेतले बार्षिक प्रगति प्रतिवेदन, सचिव निशाकिरण राइले संस्थागत अबस्था तथा भावी निति कार्यक्रम र कोषाध्यक्ष कमल कोइरालाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

बेतना सिमसारमा २५ जनाको कार्यसमिति रहेको छ भने  ३ सय ३० जना परिषद सदस्य छन् । साधारणसभामा बेतना सिमसारको २० बर्षे गुरुयोजना पनि सार्वजनिक गरिएको छ ।