केराबारीमा सम्पन्न भो नागरिकता घुम्ती शिविर, ८ सय ३४ जनाले लिए नागरिकता

  • १५ मंसिर २०७५, शनिबार

मोरङको केराबारी गाउँपालिकामा राखिएको तीनदिने नागरिकता वितरण घुम्ती शिविरबाट ८ सय ३४ जनाले नागरिकता प्राप्त गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय मोरङद्वारा राखिएको आर्थिक वर्षको पहिलो शिविरबाट सो संख्यामा नयाँ नागरिकता बाँडिएको प्रमुख सहायक जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए । प्रमुख सहायक जिल्ला अधिकारी पाण्डेले शिविरमा ५ सय १७ महिला तथा ३ सय १७ जना पुरुषले नयाँ नागरिकता लिएको बताए ।
मंगलबार र बुधबार दुई दिनका लागि शिविर राखिएको भएपनि अत्यधिक भिडका कारण बिहीबार थप सर्वसाधारणको सहजताको लागि शिविर राखिएको उनले बताए ।

शिविरमा केराबारी गाउँपालिका २ की ८१ वर्षीया लक्ष्मीमाया  खड्काले पनि नागरिकता लिएकी  छिन् । नागरिकता लिनेहरुमा ६० प्रतिशत २० वर्षमुनिका छन् ।