पुर्व प्रवासीको संस्था रिटर्नी माइग्रेन्ट नेपालको १ नंं. प्रदेश सम्मेलन सम्पन्न, नयाँ समिति गठन

  • ४ फाल्गुन २०७५, शनिबार

प्रवासबाट आर्जित सीप, ज्ञान र पुंजी स्वदेशका लागि भन्ने नारासहित स्थापित वैदेशिक रोजगारबाट फर्किएका नेपालीहरुको सामाजिक संस्था रिटर्नी माइग्रेण्ट नेपालको शनिबार इटहरीमा सम्पन्न १ नम्बर प्रदेश प्रथम सम्मेलनले गोकुल बहादुर थापाको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

प्रदेश सम्मेलनबाट  केसव श्रेष्ठ उपाध्यक्ष, भरत शिवाकोटी सचिव,  उत्तम श्रेष्ठ सेन सह सचिव र संगीता कार्की कोषाध्यक्ष चयन भएका छन् । त्यसैगरी  सम्मेलनबाट डिल्ली हुमागाई, ऋतु बास्तोला, गोपाल भण्डारी, भिम कु लकान्द्री, राजु भट्टराई, खगेन्द्र कार्की, भोलाकाजी पुरी, उमेश देउजा, मिनध्वज कार्की,  देवेन्द्र सुवेदी, रमेस कु. तामाङ, योगनारायण सिक्दार, चित्रा श्रेष्ठ र जयनारायण यादव सदस्य चयन भएका छन् । अरु सदस्य पछि थप गरिनेछ ।

आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यतामा र रिटर्नी माइग्रेण्ट नेपाल १ नम्बर प्रदेशका संयोजक गोकुल बहादुर थापाको सभापतित्वमा इटहरीस्थित लायन्स क्लबको हलमा भएको प्रदेश सम्मेलनमा रिटर्नी माइग्रेण्ट नेपालका राष्ट्रिय अध्यक्ष उत्तम अधिकारी र महासचिव लक्ष्मी आचार्य लगायतका पदाधिकारीहरुको पनि सहभागिता थियो । सम्मेलनमा राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेल, प्रदेश सांसद निलम बस्नेत, उपेन्द्र घिमिरे, सर्वध्वज सावाँ लगायत सञ्चारकर्मीको पनि उपस्थिति थियो ।

प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले युवाहरू  बिदेश गएका कारण नेपालको उत्पादकत्व कमजोर भएको बताए । नेपाली समाजमा श्रमको कदर गर्ने बानी नभएको तर बिदेशमा बसेका युवाहरुमा श्रम गर्ने बानी भएकोले पनि पुर्व प्रवासीहरुसंग सहकार्य गरेर सरकार अघि बढ्नुपर्ने उनले बताए ।

प्रदेश सरकारको पहिलो प्राथमिकता कृषि भएकोले पुर्व प्रवासीहरु योजना सहित आएमा कृषिका लागि स्थान उपलब्ध गराइदिने र सहज वातावरण बनाइदिने काम प्रदेश सरकारले गरिदिने उनले बताए । पुर्व प्रवासीहरुलाई   कम्पनी निर्माण गरेर पुल पुलेसा, बाटो घाटो बनाउनका लागि आग्रह गर्दै त्यसका लागि कानुन बनाएर ठेक्का दिने उनले बताए । प्रदेश सांसदहरु सर्वध्वज सावाँ र निलम बस्नेतले पुर्व प्रवासीहरुलाई स्वदेशमै रोजगार हुन सक्ने कानुन बनाउन पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

रिटर्नी माइग्रेण्ट नेपालका राष्ट्रिय अध्यक्ष उत्तम अधिकारीले बिदेशबाट फर्केका नागरिकहरु राज्यको नजरमा पर्न नसकेको र उनीहरूले सिकेका सीप, प्रबिधी, दक्षता, लगानी योग्य पुंजीलाई राज्यले प्रयोग गरी उत्पादनमुलक काममा लगाउन र उधमशील बनाउन नसकेको बताए ।

रिटर्नी माइग्रेण्ट नेपालका सल्लाहकार तथा लगानी बोर्डका अध्यक्ष राजेन्द्र प्रसाद देवकोटा ‘आफैं मालिक, आफैं कामदार’ बन्ने बनाउने योजना सहित लगानी बोर्ड कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भइसकेको र हाल लगानी बोर्डले संभाब्यता अध्ययन गरिरहेको अनि  निकट भबिष्यमा सबै प्रदेशहरुमा रोजगारी सृजना गर्ने वातावरण बनाउने बताए । उनले सातै प्रदेशमा कृषिजन्य उत्पादनहरुको कोल्ड स्टोर बनाउने योजना सुनाए ।

राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेल राजनीतिक उपलब्धि पूरा भइसके पनि आर्थिक समृद्धिको लागि सैयौं कानुन निर्माणका चरणमा रहेको र नयाँ संरचना अभ्यासमा रहेको बताए  । उनलेे हिजो राजनीतिक दलहरूमा आर्थिक समृद्धिको नारा नै थिएन भन्दै अहिले मुल नारा नै रोजगारी नै भएको बताए ।

सामाजिक सुरक्षा, व्यवसायिक दृष्टिकोण, आत्मविश्वास जस्ता कुरामा युवाहरूलाई प्रशिक्षित गर्न थालिएको भन्दै उनले मुलुक समृद्ध हुने आधार पुर्व प्रवासी नै भएको बताए । लगानी बोर्ड मात्रै होइन, लगानी बैंक नै खोल्न आग्रह गर्दै उनले  राज्यले लगानी गरेर राज्य समृद्ध भएको उदाहरण कहिँ नभएको बताए ।

रिटर्नी माइग्रेण्ट नेपालका १ नम्बर प्रदेशका सचिव भरत शिवाकोटीले कार्यक्रम संचालन गरेको कार्यक्रममा शिवाकोटीले नै प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रदेश १ मा झापा, मोरङ, सुनसरी, इलाम, पांचथर, धनकुटा, तेह्रथुम, संखुवासभा लगायतका जिल्लामा जिल्ला स्तरीय समितिहरु निर्माण भइसकेका छन् ।