हत्या गरी फरार रहेको अभियुक्त १० वर्षपछि पक्राउ, कारको लोभले हत्या गरेको खुलासा

  • १० फाल्गुन २०७५, शुक्रबार

बेलबारी, माेरङ/ १० वर्ष अघि हत्या गरी फरार रहेका एकजना अभियुक्तलाई ईलाका प्रहरी कार्यलय बेलबारीले पक्राउ गरी सार्वजनिक गरेकाे छ ।

अर्जुनधारा नगरपालिका वडा नं – २, झापा घर भएका ४३ बर्षिय शरण भट्टराईलाई प्रहरीले १० बर्षपछि पक्राउ गरेको हो ।

भट्टराई विर्तामाेड नगरपालिका वडा नं ४ का २७ वर्षीय दिपक पाण्डेलाई २०६५ साल चैत्र ३१ गते मोरङको भाउन्नेमा हत्या गरी पाण्डेले चलाएकाे मारुती कार लिएर फरार भएका थिए । भट्टराईले साविककाे डाँगिहाट गाविस हालकाे बेलबारी नगरपालिका वार्ड १० भाउन्नेमा ल्याई पाण्डेको हत्या गरेका थिए ।

भारतमा परिवारसहित लुक्दै आएका अभियुक्त भट्टराईलाई प्रहरीले नेपाल आएकाे माैका पारेर २०७५ साल फागुन ७ गते काकडभित्ताबाट पक्राउ गरेको थियो ।उनलाइ माेरङ जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्धामा म्याद थप गरी प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भैरहेकाे ईलाका प्रहरी कार्यालय बेलबारीले वताएकाे छ ।

ईलाका प्रहरी कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरेर घटना बिवरणसहित भट्टराईलाई सार्वजनिक गरेकाे हाे । ईलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख रामकुमार राईले दिएकाे जानकारी अनुसार मृतकले चलाएकाे मारुती कार लुट्ने मनसायले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरी निरिक्षक राईका अनुसार हत्या पश्चात् मृतककाे काे १ .च. ३८५० नं काे मारुति कार अभियुक्तले लिएर गएका थिए ।  साे कारलाई पाेखराकाे हिरा माेटरपार्टस एण्ड ग्यारेजमा रु ६५ हजारमा विक्री गरेको खुलेको छ  ।अभियुक्त भट्टराई बिगतमा शिक्षण पेशामा आवद्ध रहेकाे पनि वुझिएकाे छ ।