फेरि बढ्न थाल्यो ‘इन्भेस्टमेन्ट कम्पनी’ को ठगीधन्दा, मोरङमा लाखौं उठाएर संचालक फरार

सहकारीको लोगो प्रयोग गर्दै, ठग्दै

  • १५ कार्तिक २०७६, शुक्रबार

मोरङको बेलबारी–११ लक्ष्मीमार्गस्थित इकोनोमिक्स इन्भेष्टमेण्ट प्रालिका सञ्चालक स्थानीयबासीले बचत गरेको लाखौं रकम उठाएर बेपत्ता बनेका छन् ।

स्थानीय व्यापारी व्यवसायीले बचत गरेको रकम सङ्कलन गरेर प्रालिका सञ्चालक बेपत्ता बनेका हुन् । करिब ५ वर्षअघि सञ्चालनमा आएको इन्भेष्टमेण्टले गतवर्षदेखि बेलबारी–११ मै रहेको दीप पशुपति बचत तथा ऋण सहकारी संस्थाको पासबुक प्रयोगमा ल्याएको थियो । अवैधानिक रूपमा प्रयोग गरिरहे पनि स्थानीय प्रशासन मुकदर्शक बनेको थियो ।

गतवर्ष राष्ट्र बैङ्कले धरान, इटहरीलगायतका शहरमा यस प्रकारका इन्भेष्टमेण्ट प्रालिहरूमा छापा मारेपश्चात् प्रालिले कार्यालयको होडिङ बोर्ड हटाएर काम गर्दै आएको थियो । त्यसलगत्तै सहकारीको बचत पासबुक प्रयोगमा ल्याएको दीप पशुपतिका सचिव विक्रम माझीले बताए । माझीका अनुसार विश्वासको भरमा हामीले आफ्नो संस्थाको पासबुक र छाप दियौँ तर यस्तो हुन्छ भन्ने सोचेका थिएनौँ । स्थानीय व्यवसायीहरूसँग दैनिक रूपमा बचत तथा ऋणको कारोबार गरिरहेको उक्त इन्भेष्टमेण्ट प्रालि दशैंयतादेखि बिना सूचना बन्द गरेपछि बचतकर्ताहरू न्यायको खोजीमा भौंतारिरहेका छन् ।

बचतकर्ता युवराज श्रेष्ठका अनुसार दशैं अगावै संस्था बन्द भएको छ । उनले संस्थाका मेनेजर पूर्णिमा तामाङको घरमा गएर बुझ्दा तामाङले उल्टो आफूले पनि तलब नपाएका कारणले दशैं अगाडि नै छाडेको जानकारी गराएको बताए । तामाङले सङ्कलन कर्तालाई पनि बचत सङ्कलन गर्न नभनेको भन्दै जवाफ दिएको श्रेष्ठले बताए ।

उक्त इन्भेष्टमेण्टका तीन कर्मचारीमध्ये पूर्णिमा, सविना कार्की र मेनुका ढकाल कलेक्टरका रूपमा कार्यरत थिए । मेनुकाको अनुसार शुरु–शुरुमा निकै राम्रो बचत सङ्कलन हुने गरेको थियो तर अहिले पछिल्लो चरणमा सङ्कलनमा कमी आएको थियो । उनले बचत सङ्कलन बापत आफूलाई ३ प्रतिशत मात्रै दिने गरेको बताउँदै अन्य विषयमा आफू जानकार नभएको बताइन् । मेनेजर पूर्णिमा तामाङले आफू अस्वस्थ भएको कारण सञ्चालकलाई जानकारी गराएरै छोडेको र आफूले केही महिनाको तलबसमेत लिन बाँकी रहेको बताइन् ।

उक्त इन्भेष्टमेण्टका सञ्चालक दर्शन श्रेष्ठलाई वडाध्यक्ष यमबहादुर पोख्रेलले केही दिनअघि टेलिफोन सम्पर्क गर्दा आफू हाल काठमाडौँमा रहेको र चाँडै आएर हिसाब मिलाउने आश्वासन दिएको पोख्रेलले बताए । व्यवसायीहरूसँग बचत सङ्कलन गरेर कोही सहकारीको नाममा र कोही इन्भेष्टमेण्टको नाममा फरार हुने क्रम बढेसँगै सहकारी क्षेत्रको विश्वसनीयता घट्दो छ ।