पत्रकारितासँगै भुकम्प प्रतिरोधात्मक घर बनाउने ब्यबशायतिर लागे भण्डारी

  • १६ मंसिर २०७६, सोमबार

पत्रकारिताका माध्यमबाट समाज र राष्ट्रका लागि केही गर्ने सोचले दुई दशकदेखि पत्रकारिता गर्दै आएका सञ्चारकर्मी अम्बिका भण्डारीले निर्माण सम्बन्धि नयाँ ब्यबशाय शुरु गरेका छन् ।

सञ्चारकर्ममा लामो समय विताएका भण्डारीले भौतिक विकासमा पनि योगदान गर्न यस्तो व्यवसायमा लागेको बताएका छन् । बिगत पन्ध्र सोह्र बर्षदेखि मोरङको बेलबारीलाइ पत्रकारिताको कार्यथलो बनाउँदै आएका उनले बेलबारी १ सिनेमा हल लाइनमा पसल रहने गरी ‘पुर्वेली होम मेकर्स’ नामबाट व्यवसाय शुरु गरेका हुन् ।

२०७२ सालको भुकम्पपछि नेपालमा भित्रिएका नयाँ प्रबिधि प्रयोग गरी छिटो निर्माण हुने भुकम्प प्रतिरोधात्मक घर तथा भवन निर्माणको काम शुरु गरेको भण्डारीले बताए ।
कसरी बन्यो व्यवसायिक सोच ?
बिसं २०५५ सालमा धनकुटा बहुमुखी क्याम्पसमा आइ एड पढ्दापढ्दै लहडै लहडमा पत्रकारिता क्षेत्रमा होमिएका भण्डारी पत्रकारिता गर्दागर्दै २०५८ सालको संकटकालको माओवादीलाई सघाएको आरोपमा पक्राउ परी चरम यातना सहित डेढ बर्ष प्रहरी हिरासतमा बसेका थिए । २०६० बैशाखमा रिहा भएपछि धनकुटा छाडेर बेलबारी आएका थिए । गैरकानुनी हिरासत र यातना विरुद्ध मुद्दा लडी उनले राज्यबाट २० हजार क्षतिपूर्ति पनि लिएका थिए । उनको पुर्ख्यौली घर धनकुटा हो ।

उनले २०६० सालदेखि नै खासगरी उत्तरी मोरङलाइ केन्द्रित गरी पत्रकारिता गर्दै आएका छन् । नेपाल समाचारपत्र, जनआस्था साप्ताहिक लगायत थुप्रै मिडियामा लेखनको अनुभव लिइसकेका भण्डारी हाल पुर्वेली डटकमका सम्पादक छन् ।

उनकै नेतृत्वमा २०६४ सालदेखि संयन्त्र साप्ताहिक पत्रिका प्रकाशित भएको थियो । बेलबारीमा एफएम रेडियो स्थापनामा पनि उनको योगदान रहेको छ । सोही बिचमा २०६९ सालतिर उनी वैदेशिक रोजगारीका लागि युएई अर्थात दुबई पनि पुगेका थिए । द्वन्द्वपीडित भएपनि राज्य र पत्रकार महासंघ लगायतका संघसंस्थाबाट कुनै राहत र उपचार खर्च नपाएको बताउने उनी आर्थिक संकट टार्न उनी विदेसिएका थिए ।

दुई बर्ष दुबई बस्दा उनमा अलिअलि ब्यबशायिक सोच पलाएको थियो । त्यसैले फर्केपछि कुनै ब्यबशाय गर्ने योजना अनुसार झापाको दमकमा सिटी सफारीको ब्यबशाय थाले । नयाँ ठाउँ र परिस्थितिमा केही समय सिटी सफारीको ब्यबशाय गर्ने र केही समयपछि त्यो काम छाडेर अर्को ब्यबशायमा हाम फाल्ने उनको योजना थियो । तर अर्को ब्यबशायको योजना बन्दाबन्दै स्वास्थ्यका कारण योजना पुरा नभएपछि सीटी सफारी बिक्री गरी उनी बेलबारीतिरै फर्किएका थिए ।

आफ्नो स्वास्थ्यमा सुधार आएपछि आफ्नै एक साथीको निमन्त्रणामा सिलगुडीमा बिजनेस सम्बन्धि सातदिने एउटा तालिममा सहभागी भए । त्यो कम्पनी मार्केटिङसँग सम्बन्धित थियो तर तालिम भने सोचेभन्दा उत्कृष्ट थियो । तालिमबाट उनले बिश्वमा चलेका विभिन्न प्रकारका बिजनेस अनि सफल ब्यक्तिहरुको इतिहास सिके । त्यतिमात्र होइन, राजनीतिलाई सर्वेसर्वा मान्ने नेपाली संस्कार गलत भएको र राजनीतिभन्दा ठुलो दर्शन बिजनेस भएको निष्कर्षमा उनी पुगे । ब्यर्थमा समय खेर फाल्न नभई समयको सदुपयोग गर्न र सपना देख्न पनि त्यहीँ सिके । सिलगुढी बस्दाको सिकाइ नै भण्डारीका लागि व्यवसाय तिर लाग्ने ‘टर्निङ प्वाइन्ट’ बन्योे ।

तालिम सकिएपछि नेपालमै कुनै न कुनै ब्यबशाय शुरु गर्नुपर्छ भन्ने अठोट लिएर उनी नेपाल फर्के । लामो समयको अघ्ययन र भ्रमणपछि आफुले हाल आएर यो ब्यबशाय शुरु गरेको भण्डारीले बताए । ब्यबशाय मार्फत आफू र समाजको लागि पनि केही नयाँ काम गरौं भन्ने अभिप्रायले ब्यबशाय थालेको र आफू पत्रकारितामा पनि सक्रिय रहेको भण्डारीले बताए ।
आफ्नो घर बनाउन खोज्दा खोज्दै बन्यो व्यवसायको योजना
आफ्नो घर निर्माणका लागि नयाँ प्रबिधिको खोजी गर्ने क्रममा आधुनिक प्रविधिहरुबाट प्रभावित भएपछि आफ्नो घर बनाउने योजना थाँती राख्दै यो ब्यबशायमा लागेको भण्डारी बताउँछन् । भण्डारीका अनुसार पुर्वेली होम मेकर्समा घर निर्माणका लागि तीनवटा आधुनिक प्रबिधी छन् । पुर्वेली होम मेकर्स मार्फत बन्ने जुनसुकै प्रबिधिका घरहरू डेढदेखि दुई महिनाभित्र बनिसक्ने उनले दाबी गरे । हाल पुर्वका विभिन्न स्थान लगायत देश बिदेशबाट समेत घर निर्माण सम्बन्धि नयाँ प्रबिधिबारे बुझ्न थुप्रै मानिसहरू आउने तथा फोन र म्यासेज गर्ने गरेको उनले बताए ।
घामको राप नआउने र पानी पर्दा नबज्ने विशेषता भएको कर्कटपाताको सट्टा प्रयोग हुने युपिभिसी रुफिङको छाना, इट्टाको बिकल्पमा प्रयोग हुने ठुला साइजका र हलुका एएसी ब्लक, पार्टेसनका लागि प्रयोग हुने प्रिफ्याब तथा इको प्यानल बोर्ड , रेडिमेड कम्पाउण्ड वाल तथा घर निर्माणमा प्रयोग हुने प्रिकास्ट प्रबिधिका सामग्री छन् । आफुले पुर्वमै त्यसमा पनि खासगरी उत्तरी मोरङमै पहिलोपटक छिटो निर्माण हुने भुकम्प प्रतिरोधात्मक घर तथा भवन निर्माण गर्ने आधुनिक प्रविधि भित्र्याएको भण्डारीको दाबी छ । गत साउनदेखि ब्यबशाय थालेका भण्डारी मार्फत हालसम्म आधा दर्जनभन्दा बढी घरमा युपिभिसीको छाना प्रयोग भएको छ ।
सस्तोमै पनि बन्छन् भुकम्प प्रतिरोधात्मक घर
आफुहरुले बनाउने घर तुलनात्मक सस्तो, वातावरणमैत्री र बलियो समेत हुने भण्डारीले बताए । पुर्वेली होम मेकर्सले हाल ट्वाइलेट बाथरुम, सिलिङ र रंगरोगनसहित साढे सात लाख रुपैयाँमै चारकोठे भुकम्प प्रतिरोधी घर निर्माणको प्याकेज समेत ल्याएको छ । त्यसबाहेक घरको साइज र डिजाइन अनुसारका विभिन्न प्याकेज रहेको उनले बताए ।
आफुहरुले बनाउने घरका निर्माण सामग्री सार्न र पुन प्रयोग गर्न मिल्ने खालका भएको भण्डारीले जानकारी दिए । पुर्वमा कुनै एउटा निश्चित प्रबिधिबाट घर निर्माण गर्ने थुप्रै निर्माताहरु भएपनि दुई तीनवटा प्रबिधिबाट घर निर्माण गर्ने पुर्वेली होम मेकर्स एकमात्र कम्पनी भएको भण्डारीको दाबी छ । – निरन्तर  खबरबाट