पथरीलाइ पराजित गर्दै दोस्रो कुसुमे उद्यौली कपको सेमिफाइनलमा पुग्यो बेलबारी

  • २२ मंसिर २०७६, आईतवार

केराबारी ९ मा जारी दोस्रो कुसुमे उद्यौली कप प्रतियोगिताको तेस्रो क्वाटर फाइनल खेलमा पथरीलाइ पराजित गर्दै बेलबारी सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको तेस्रो दिनको खेलमा पथरी फुटबल क्लबलाई  १–० गोल अन्तरले हराउँदै बेलबारी सेमिफाइनलमा प्रवेश गरेको  हो ।

बेलबारीको तर्फबाट पहिलो हाफमा भूषण सुब्बाले गोल गरेपछि उसले अग्रता लिएको थियो । त्यसपछि दुवैतर्फबाट कुनै गोल नभएपछि बेलबारी बिजयी भयो । आइतबारको म्यान अफ द म्याच खेलको एकमात्र गोलकर्ता भूषण सुब्बा नै घोषित भए ।

मध्यान्तर अघि र पछि आधा आधा घण्टा खेलाइएको आइतबारको खेल बिजेता बेलबारीले मंसिर २४ गते हुने सेमिफाइनलमा शसस्त्र प्रहरी बल पुर्वान्चलसँग प्रतिस्पर्धा गर्नेछ । सोमबारको खेल डांँगीहाट फुटबल क्लब र इटहरी फुटबल क्लबबिच हुने आयोजकले जनाएका छन् ।

केराबारी गाउँपालिकाको सहयोगमा भैरहेको प्रतियोगिताको विजेताले ५१ हजार रुपैयाँ र उपविजेताले ३१ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल आउँदो मंसिर २६ गते हुनेछ ।