कोरोना संक्रमित युवतीसँगै बिदेशबाट चार युवा आएको हल्ला चलेपछि आतंकित बन्यो सुन्दरहरैंचा

युवती चढेकै जहाजमा आएका धनकुटाका युवा सेल्फ क्वारेन्टाइनमा 

  • १२ चैत्र २०७६, बुधबार

सुन्दरहरैंचा का ४ जना युवाहरु बिदेशबाट फर्केको र उनीहरू फ्रान्सबाट कतार हुँदै नेपाल आएकी कोरोना संक्रमित युवतीसँगै एउटै प्लेनमा आएको हल्लाले मंगलबार दिनभर खासगरी सुन्दरहरैंचा क्षेत्रमा ठुलै आतंक छायो ।

यो हल्ला जताततै छाएपनि उनीहरु को हुन् भन्ने कमैलाइ मात्रै थाहा थियोे । जताततै आतंक छाउनुको मुख्य कारण पनि यही थियो ।  यो हल्लाले जताततै पिरोलेपछि सुन्दरहरैंचा नगरपालिकाका जनप्रतिनिधिहरु सक्रिय भए । नगरपालिकाका मेयर र वडाध्यक्ष सहितका जनप्रतिनिधि सक्रिय भएपछि बिदेेशबाट चारैजनाको पत्तो लाग्यो । उनीहरू वडा नम्बर ५ का रहेेेछन् ।

उनीहरुको कागजात चेकजाँच गरियो तर हल्ला चलेजस्तो चारैजना सो प्लेनमा आएका होईन रहेछन् । बिदेशबाट आएको भएपनि उनीहरू हल्ला भएको जस्तो त्यो प्लेनमा नआएको र आएको समय नमिलेको  सुन्दरहरैंचा  ५ का वडाध्यक्ष राम रिजालले बताए  ।

मंगलबार दिउँसो मेयर शिवप्रसाद ढकाल, वडाध्यक्ष राम रिजालसहितको टोलीले उनीहरुलाई भेटेर गोठगाउँस्थित पुर्वान्चल बिश्व बिद्यालयको शिक्षण अस्पतालमा लगेर चेकजाँच गरायो ।  चेकजाँच गर्दा कुनै लक्षण पनि देखिएन ।

सुन्दरहरैंचा ५ का ४ जनामध्ये २ जना दुवइबाट र २ जना कतारबाट आएका हुन् । ती युवाहरु अंकति ढकाल, सुदीप परियार, सन्दीप विक र साने चौधरी हुन् । उनीहरुलाई कतार र दुवइबाट आउनासाथ काठमाडौंमै चोकजाँच गरिएको समेत पाइएको छ ।

चेकजाँचका क्रममा चिकित्सकले कुनै समस्या नरहेको भनेर प्रमाणपत्र समेत दिएको पाइएको वडाध्यक्ष राम रिजालले जानकारी दिए । उनीहरुलाई सेल्फ क्वारेन्टाइनमा चाहिं बस्न र केही समस्या भए जानकारी गराउन भनिएको पियुका अस्पताल निर्देशक विपेश आचार्यले जानकारी दिए ।

यसअघि सुन्दरहरैंचा ५ का ४ जना युवाहरु फ्रान्सबाट कतार हुँदै आएकी कोरोना संक्रमणको भएकी युवतीसँगै आएको भन्दै प्रचार भएको थियो । त्यसपछि मेयर ढकाल, वडाध्यक्ष रिजालसहितको टोलीले उनीहरुलाई भेटेर अस्पतालसम्म लगेको थियो ।

युवती चढेकै जहाजमा आएका धनकुटाका युवा सेल्फ क्वारेन्टाइनमा 

त्यसैगरी कोरोना भाइरस संक्रमित युवतीसँगै जहाजमा आएका एक युवा झापाको दमकमा सेल्फ क्वारेनटाईनमा बसेका छन् ।

धनकुटाको चौबिसे गाउँपालिका–५ बोधे पुर्खौली घर भई हाल दमक बसाई सरेका युवक गत ४ गते कतार एयरवेजको क्यूआर ६५२ जहाजबाट काठमाण्डौं आएका थिए  ।

फ्रान्सबाट कतार ट्रान्जिट हुँदै उनीसँगै आएकी १९ बर्षीय युवतीलाई कोरोनाको संक्रमण पुष्टि भएर अहिले आईसोलेशनमा छिन् । युवती सवार जहाजमा सँगै आएका यात्रुको खोजी गर्ने क्रममा ती युवक दमक स्थित घरमै क्वारेनटाइन बसेको पत्ता लागेको दमकका डिएसपी बिजयराज पण्डितले बताए  ।

ती युवकको राहदानीमा धनकुटा ठेगाना रहेकाले उनको धनकुटामा खोजी गरिएको थियो । नागरिकता नम्बरका आधारमा खोजी गर्दा चौबिसे घर भएको ठेगाना पत्ता लाग्यो । त्यसपश्चात चौबिसे गाउँपालिका अध्यक्ष खजिन्द्र राई, उपाध्यक्ष यज्ञकुमारी रुचाल लगायतले बुधबार गाउँमा गएर खोजी गर्दा उनको परिवार बसाईं सरिसकेको पत्ता लाग्यो।

धनकुटाबाट बसाईंं सरिसकेकाले उनी काठमाण्डौबाट सिधै दमक गएका थिए । दमक प्रहरीले सम्पर्क गर्दा उनी घरमै बसिरहेको पाइएको थियो । प्रहरीका अनुसार उनमा हालसम्म कोरोनाको लक्षण देखिएको छैन र स्वास्थ्य परिक्षण पनि गरिएको छैन ।

उनीहरुसँगै जहाजमा १ सय ५८ जना सवार थिए । जसमध्ये १ सय २५ जना सम्पर्कमा आइसकेको प्रहरीले जनाएको छ ।