केराबारीको पुरानो संस्था शुभ खानेपानीको साधारणसभा सम्पन्न, नयाँ समिति गठन

एकीकृत हुन सकेनन् खानेपानीका चार संस्था

  • ३ चैत्र २०७७, मंगलवार

‍‍‍झण्डै १५ सय बढी नीजि धारा मार्फत केराबारीका तीनवटा वडामा खानेपानी वितरण गर्दै आएको केराबारीको अग्रणी र ४० बर्ष पुरानो संस्था शुभ खानेपानी उपभोक्ता तथा सरसफाई समितिको साधारणसभाले गोकुल बहादुर थापाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

केराबारीको वडा नम्बर १०, ८ र ३ नम्बरका वडाबासीलाइ खानेपानी आपूर्ति तथा बितरण गराउँदै आएको सो संस्थाको हालै भएको साधारणसभाले सर्वसम्मत रूपमा कार्यसमिति चयन गरेको हो ।

नवगठित समितिमा कविता बान्तवा राई उपाध्यक्ष, दिल कुश लिम्बु सचिव, राजन कुमार थापा सह सचिव र इन्दिरा बराल कोषाध्यक्ष चयन भएका छन् । त्यसैगरी नवगठित समितिका सदस्यहरुमा मोतिलाल कोईराला,  पदम बहादुर तामाङ, रमानाथ फुयाँल, तप्त बहादुर बि.क., यशोदा घिमिरे र संगीता लिम्बु चयन भएका छन् ।

संस्थाले फागुन २२ गते साधारणसभा आयोजना गरेकोमा सो साधारणसभाबाट सर्वसम्मत समिति गठन हुन नसकेपछि टेकवहादुर थपलियाको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।  निर्वाचन समितिको पहलमा सोमबार सर्वसम्मत रूपमा नयाँ समिति गठन गरिएको थियो । यसअघि चयन भएको समितिले चार बर्षसम्म साधारणसभा गर्न सकेको थिएन ।

त्यसैगरी संस्थाको लेखा समितिमा  सुर्यवहादुर थापा संयोजक तथा  प्रकास साह र मनुसा ढकाल सदस्यमा चयन भएका छन् ।

नयाँ समिति चयन भएपछि बर्खा याममा मा धमिलो पानी खानु पर्ने बाध्यता हट्ने उपभोक्ताहरुले अपेक्षा गरेका छन् ।

२०३६ सालमा स्थापित त्रिभुवन खानेपानी समितिका रूपमा स्थापना भई पछि परिमार्जित शुभ खानेपानी उपभोक्ता तथा सरसफाई समितिले केराबारी बजारको खानेपानी बितरणलाई संचालन एवं व्यवस्थापन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

शुभ खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका नवनिर्वाचित अध्यक्ष गोकुलबहादुर थापाले
तत्कालीन, मध्यमकालिन र दीर्घकालीन योजना बनाई केराबारीमा भएको खानेपानी समस्या समाधानको प्रयास गर्ने बताए ।

साथै वर्षभरी निरन्तर स्वच्छ पानी आपूर्ति गर्न बोरवेललाई टंकीमा जोड्ने, सम्फवेल मर्मत गर्ने, सुपाडे, भडारे मुहान मर्मत गरी संचालन गर्ने, पानी लिकेज भएको स्थान पत्ता लगाई मर्मत गर्ने र मिटर बिग्रेका तथा धारा नजोडेका उपभोक्ता पत्ता लगाई खानेपानी बितरण प्रणालीलाई पुन: नक्साङ्कन गरी वातावरण संरक्षण तथा सरसफाइमा समेत योगदान दिने योजना रहेको उनले बताए ।

खानेपानीको बिल भुक्तानी तथा लेखा प्रणालीलाई डिजिटल प्रबिधि मा बिकास गर्ने, मच्छिन्द्र, शुभ,  कुवापानी र सिर्जना खानेपानी उपभोक्ता समितिलाई एकीकरण गर्न थप पहल गर्ने तथा
प्रस्तावित केराबारी शहरी खानेपानी योजनालाइ सहयोग गर्ने थापाले बताए ।

एकीकृत हुन सकेनन् खानेपानीका चार संस्था

केराबारी बजारमा खानेपानी आपूर्ति, बितरण तथा योजना सन्चालनका लागि खानेपानीका चारवटा संस्था सक्रिय छन् । सबै संस्थाहरुलाइ एकीकरण गरी एउटै संस्था बनाउन गत बर्ष एक समिति  गठन गरिएपनि हालसम्म ती संस्थाहरु एकीकरण हुन सकेका छैनन् ।

केराबारीमा पहाडी क्षेत्रका खोला, खोल्सी तथा मुहानबाट पानी आपूर्ति गरिँदै आएको छ । एक दुई स्थानमा डिप बोरिङ गरिएपनि खासै प्रभावकारी भएका छैनन् ।
विभिन्न संस्थाले आ- आफ्नै हिसाबले पानी आपूर्ति, बितरण तथा योजना संचालन गर्दा केराबारीको खानेपानी समस्या समाधान हुन सकेको छैन ।

केराबारीबासीले बेलाबखत हिउँदमा पानीको हाहाकार ब्यहोर्दै आएका छन् भने बर्खा याममा धमिलो पानी खानुपर्ने बाध्यता छ ।