दुइवटा वडामा बिभाजन हुँदै केराबारी ९
- ३ असार २०८२, मंगलवार
केराबारी गाउँपालिकाको वडा नम्बर ९ लाइ बिभाजन गरी २ वटा वडा बन्ने भएको छ ।
स्थानीय तहमा भएको सहमति र निर्णयका आधारमा कोशी प्रदेश सरकारले गत चैतमा केराबारी गाउँपालिकाको वडा नम्बर ९ लाई विभाजन गर्न संघीय सरकारलाई सिफारिस गरिसकेको छ ।
प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले मोरङको वडा दुई भौगोलिक क्षेत्रमा पर्ने र पहाडी भूभाग अत्यन्तै ठूलो भएकोले सेवा प्रवाह तथा सेवा प्राप्त गर्न कठिनाई भएकोले केराबारी ९ लाई विभाजन गरी वडा नम्बर ११ बनाउन सिफारिस गरेको छ ।
कोशी प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतिरमण भण्डारीले मन्त्रीपरिषदको निर्णय लगत्तै केराबारी गाउँपालिकाको पछिल्लो गाउँसभाका दुई तिहाई सदस्यहरुको निर्णयबमोजिम आएको सिफारिसलाई प्रदेश सरकारले निर्णय गरी संघीय सरकारसमक्ष सिफारिस गरिएको जानकारी दिएका थिए ।
हुन त संघीय लोकतान्त्रिक गणतन्त्र आउनु अघि केराबारी गाउँ बिकास समिति रहँदा पनि स्थानीयले केराबारी ९ लाई छुट्टै गाउँ बिकास समिति बनाउनुपर्ने माग गरेका थिए । राज्य पुनसंरचनाका क्रममा साबिक केराबारी, याङ्सिला, पाटी, सिंहदेवी र भोगटेनी गाउँ बिकास समिति मिलेर केराबारी गाउँपालिका बन्दा पनि साबिक केराबारी गाउँबिकास समितिको वडा नम्बर ९ लाइ यथावत राखिएको थियो । त्यसबेला स्थानीय बासिन्दाले केराबारी ९ लाई बेलबारी नगरपालिकामा पार्न माग गरेका थिए । तापनि यो क्षेत्र केराबारी ९ नै कायम भएको थियो ।
हाल केराबारी ९ को आफ्नै वडा कार्यालय घंघरुमा छ तर पनि वडा कार्यालयले हप्ताको तीन दिन घँघरुबाट र तीन दिन देवीझोडामा भाडामा रहेकोे कार्यालयबाट सेवा दिइरहेकोको छ ।
स्थानीय र प्रदेश सरकारले सिफारिस गरेपछि निर्वाचन आयोगले सामान्यतया आउँदो चुनावअघि वडा बिभाजन गर्ने गर्दछ । – संयन्त्र साप्ताहिकबाट









