केराबारी गाउँपालिका क्षेत्रमा बजेटको ओइरो, जनप्रतिनिधिहरु उत्साहित

  • ६ असार २०८२, शुक्रबार

मोरङ केराबारी गाउँपालिका क्षेत्रमा केन्द्रिय र प्रदेश सरकार मार्फत विभिन्न योजनाका लागि यसै बर्ष झन्डै एक अर्ब हाराहारीमा बजेट आउने भएको छ ।

केराबारी गाउँपालिकाको र मोरङ क्षेत्र नम्बर १ का संघीय सांसद डिकबहादुर लिम्बु मार्फत केराबारी गाउंपालिका क्षेत्रमा एक अर्व हाराहारी बजेट आउने भएको हो ।
केराबारी गाउँपालिकाका अनुसार यस बर्ष संघीय सरकार मार्फत केराबारी- रामपुर सडकका लागि ६ करोड र रामपुर जेफाले सडकका लागि २० करोड बजेट बिनियोजन भएको छ । केराबारी २ को फाइवा माध्यमिक विद्यालयको पुर्वाधार निर्माणका लागि ७० लाख बजेट परेको छ । यसै बर्ष धनकुटाको सीमा क्षेत्रमा पर्ने केराबारीको प्रमुख पर्यटकीय स्थल जेफाले पर्यटन क्षेत्र बिकासका लागि ३ करोड ११ लाख र केराबारी गाउँपालिका २ कै बिहिबारे फाइवा कृषि सडकका लागि २५ लाख बजेट बिनियोजन भएको नेकपा एमाले केराबारी २ का अध्यक्ष देवीलाल लिम्बूले जानकारी दिए ।
त्यसैगरी केराबारी र सुन्दरहरैंचाको सिमाक्षेत्र डिपु चोक देखि डाँगी सडकका लागि राष्ट्रिय सभा सदस्य गोपी अछामीको पहलमा तीन करोड बिनियोजन भएको छ । डाँगीदेखि पाटीगाउँ शहरी तीन करोड बजेट बिनियोजन भएको केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरिङ्चिङ मगरले जानकारी दिए । अध्यक्ष मगरका अनुसार केराबारी ६ को मुगु लामिटारबाट पाटी हुँदै धनकुटाको डाँडाबजार जोड्ने सडकका लागि संघीय सरकारमार्फत नै ९० लाख रुपैयाँ बिनियोजन भएको छ ।
त्यस्तै केराबारी ९ को देवीझोडा र बेलचौरी जोड्ने पुल निर्माणका लागि पनि ३ करोड रुपैयाँ बिनियोजन भएको छ । हचुवा देविझोडा सडक कालोपत्रेको लागि पनि ३ करोड बजेट विनियोजन भएको केराबारी गाउँ पालिकाको फेसबुक पेजमा उल्लेख छ ।
केराबारी वडा नम्बर ६ र ७ मा बृहत्तर खानेपानी योजना संचालनका लागि ४० लाख बजेट आउने भएको छ भने केराबारी ७ मै शिवालय मन्दिर निर्माणका लागि २५ लाख बजेट परेको छ । त्यस्तै निर्माणाधीन कृषि भवनको काम पुरा गर्न ५० लाख र कृषि बिकासका कार्यक्रम संचालनका लागि ८० लाख रुपैयाँ बिनियोजन भएको केराबारी गाउँपालिकाले जनाएको छ । केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङ, उपाध्यक्ष मनमाया मगर, पुर्व संघीय सांसद घनश्याम खतिवडा, प्रमुख प्रशासकीय अधिकृत लगायतको टोली पटकपटक काठमाडौ गएर पहल गरेका कारण केराबारीमा दर्जनभन्दा बढी योजना आएको गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङका स्वकीय सचिव बिवेक भुजेलले बताए ।
संघीय सांसद लिम्बूको पहलमा आए यी योजना
केराबारी गाउँपालिका क्षेत्रमा मोरङ १ का संघीय सांसद डिकबहादुर लिम्बुको पहलमा पनि केही योजना आएका छन् । पुर्वमन्त्री समेत भइसकेका सांसद लिम्बुको पहलमा केराबारीमा आदिबासी जनजाति भवनको लागि ३ करोड, बेलचौरी-देवीझोडा पुल निर्माणका लागि ३ करोड १५ लाख, केराबारी ५ को हुलाक चोक देखि फुलबारी चोक आवतजावत गर्ने सडक कालोपत्रेका लागि २५ लाख र देवीटार दलित बस्ती पुर्वाधारका लागि ४० लाख बजेट बिनियोजन भएको गाउँपालिकाले जनाएको छ । – संयन्त्र साप्ताहिकबाट